किशोरी कुप्रथाविरुद्ध उभिए


हरेकपल August 26, 2019

खलङ्गा, ९ भदौ । जुम्लाको सिञ्जा गाउँपालिकाका किशोरी जिल्लामा रहेको कु–प्रथाको विरुद्धमा उभिएका छन् । गाउँपालिकाभित्र रहेका विभिन्न कुप्रथालाई न्यूनीकरण गर्ने उनीहरुले आवाज उठाउन थालेका छन् ।

आफूले भोगेका भोगाइलाई प्रतिभाका माध्यमबाट प्रस्तुत गर्न थालेका हुन् । गाउँपालिका २५ जना किशोरीले महिलाले भोगेका समस्या, कलाका माध्यमबाट प्रस्तुत गरेका छन् । महिलालाई महिनावारी भएका बेला भोग्नुपर्ने समस्या अनि घरपरिवारबाट हुने विभेदको वेदनासमेत एक गोष्ठी कार्यक्रममा सुनाएका हुन् ।

पुरुषप्रधान देशमा महिलालाई हेर्ने नजर नै फरक रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा सहभागी एक किशोरीले महिनावारी भएका बेला जन्मदिने आमाबाबुले समेत हेला गर्ने गरेको दुखेसो सुनाउनुभयो । घरबाट टाढाको गोठमा बस्नुपर्छ । कति बेला के हुन्छ, थाहा छैन । बाघ, सर्पको डरले महिनावारी भएका बेला नसुतेरै रात काट्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

जिल्लामा बालविवाह गर्ने चलन पनि निकै रहेको छ । यहाँ १२ देखि १५ वर्षमै विवाह गर्ने प्रचलन धेरै छ । यसलाई समयमै रोक्न नसके ठूलो दुर्घटना हुने उनीहरुको भनाइ छ । प्लान इन्टरनेशनल नेपालको सहयोग र सिद्धार्थ फाउण्डेशनको आयोजनामा भएको कला कार्यशाला गोष्ठीमा सिञ्जाका २५ जना किशोरीले सिञ्जामा रहेको कुप्रथालाई तत्काल रोक्नुपर्ने भन्दै गीतका माध्यमबाट ध्यानाकर्षण गराएका हुन् । रासस