आज आश्विन संक्रान्ति, विश्वकर्मपूजा महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १ गते


हरेकपल September 18, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विनकृष्णपक्षको चतुर्थी तिथि दिवा ३।१३ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । भरणी नक्षत्र अहोरात्र रहनेछ । व्याघात योग र कौलव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।५० मा छ भने सूर्यास्त बेलुका ६।४ बजे हुनेछ ।

चन्द्रमा आज मेष राशिमा छन् । आज आश्विन संक्रान्तिका साथै शरदऋतुको आरम्भ भएको दिन पनि हो । आजबाट सूर्य कन्या राशिमा प्रवेश गरेका छन् । सोह्रश्राद्ध अन्तर्गत आज चतुर्थी श्राद्ध पनि परेको छ ।

यसैगरी आज विश्वकर्मा पूजा पनि हुने गर्दछ । आजको यान्त्रिक युगका पिता विश्वकर्मा हुन् । त्यसैले आश्विन संक्रान्तिका दिन अर्थात् आज गते यिनै ब्रह्माका सन्तति विश्वकर्माको विशेष पूजा आराधना हुने गर्दछ । विश्वकर्मालाई देवशिल्पीको उपनाम पनि दिइएको छ । शरदऋतु आरम्भको पहिलो दिन विश्वकर्माको विशेष पूजा आराधनाका गरिन्छ ।
आज यान्त्रिक उपकरण, फ्याक्ट्री, मेसिनरी सामानाका साथै प्रविधिबाट चल्ने वस्तुको पनि पूजा हुने गर्दछ ।

पौराणिक कथा अनुसार देवशिल्पी विश्वकर्माले पृथ्वीमा पनि सुन्दर शहर एवं भवन निर्माण गरेको कथा पाइन्छ । सुनको अलापुरी, भववान् श्रीकृष्णको द्वारका पुरीपरी, पाण्डवका निम्ति हस्तिनापुरमा सुदामा नगरी पनि विश्वकर्माले नै रचना गरेका थिए । विश्वकर्माकै हातवबाट जगन्नानथस्थित काठको मूर्ति उनकै कला कौशल हो । सत्ययुगको स्वर्ग लोक, त्रेतायुगको स्वर्णमयी लंका, द्वापर युगको द्वारका र कलि युगको हस्तिनापुर स्वयं विश्वकर्माले नै निर्माण गरेका थिए ।

शेष शैयामा शयन गर्नु भएका विष्णु भगवान्को नाभिकमलबाट ब्रह्माको उत्पत्ति हुन्छ । ब्रह्माका पुत्र धर्म, धर्मका पुत्र वास्तुदेव, वास्तुदेव र अंगिरसीका पुत्रका रूपमा विश्वकर्माको जन्म भएको हो । विश्वर्माका पिता वास्तु शील्पमा निपूण भएकाले उनमा पनि सो ज्ञान भएको पाइन्छ । विश्वकर्माका अनेक रुप पाइन्छन् ।
विशेषतः मय र त्वष्टालाई विश्वर्मा भनिएको पाइन्छ । यी दुवै सृष्टि र नयाँ युगको आविष्कर्ता हुन् । यसैगरी अन्य विश्वकर्मामा—

धर्मवंशी विश्वकर्मा : शिल्प विज्ञान विधाता अर्थात् (प्रभात पुत्र)
अंगिरावंशी विश्वकर्माः आदि विज्ञान विधाता (वसु पुत्र)
सुधन्वा विश्वकर्माः विज्ञानका जन्मदाता (अथर्वा ऋषिका नाति)
भृंगुवंशी विश्वकर्माः उत्कृष्ट शिल्प विज्ञानाचार्य (शुक्राचार्यका नाति) ।
कर्म अनुसार विश्वकर्माका स्वरूप पनि रहेको पाइन्छ । उनका मनु, मय, त्वष्टा, शील्पी, एवं दैवज्ञ गरी पाँच पुत्र थिए । छोराहरु नाम अनुसारका काममा पनि निपूण रहेको पाइन्छ । मनु फलामसँग सम्बन्धित, मय कष्ठकलाका ज्ञाता, त्वष्टा काँस र तामासँग सम्बबन्धित वस्तुका ज्ञाता थिए । यसैगरी शिल्पी ढुंगा इटाको कार्यमा र दैवज्ञ सुन चाँदीका कार्य कालमा निपूण रहेको पाइन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्