काठमाडौं, ४ असोज । चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने भएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउनेछन् । उनी एक रात काठमाडौं बसेर बेइजिङ फर्किने कार्यतालिका तयार भएको छ । तर, दुवै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन् ।
सी भ्रमणको तयारीकै सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख सोङ ताओलगायतको टोली शनिबार काठमाडौं आउँदै छ ।