आज घटस्थापना, नवरात्रको आरम्भ महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १२ गते


हरेकपल September 29, 2019



श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १२ गते आइतबार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको प्रतिपदा तिथि राति १०।३ बजेसम्म रहनेछ । सो यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । हस्ता नक्षत्र राति ९।४७ बजेसम्म रहनेछ । ब्रह्म योग र किंस्तुघ्न करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।५५ मा छ भने सूर्यास्त बेलुका ५।५१ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।


आजबाट नवरात्रको आरम्भ भएको छ । आज घटस्थापनाको शुभ साइत विहान १०।३५ शुभ रहेको नेपाल पञ्चाङ्गनिर्णयक समितिले जनाएको छ । आजबाट विधिवत् रूपमा दुर्गा भगवतीको आराधना आरम्भ हुने गर्दछ । आद्य शक्ति भगवतीको उपासनाका निम्ति यो शुभ अवसर हो ।
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी आज घटस्थापना गरिन्छ । विहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखिन्छ । यस पछि शास्त्रीय विधि अनुसार दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ ।


पूजास्थनमा उक्त पवित्र माटो छरेर बीचमा एक विशेष घडा अर्थात् कलशको स्थापना गरिन्छ । कलशमा वरुणादि सम्पूर्ण देवी देवताको आह्वान हुने गर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षेडशोपचारले आवाहन पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् भगवतीको प्रिय वस्तु जौ उक्त घडा (कलशको) वरिपरि जमराका निम्ति छर्नु पर्दछ । भगवती दुर्ग देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य हुने गर्दछ ।

यसरी स्थापना गरिएका जौ क्रमशः बढ्दै जमराका रूपमा परिणत हुन्छन् । जमरा जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले जौ रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
आद्यशक्ति भगवतीको उपासना गर्नाले समस्ता मनोकामना पूर्णहुने कुरा देवीभागवत एवं स्कन्दपुराण उल्लेख पाइन्छ । आजबाट नवरात्र विधिले देवीभागवतको पाठ, दुर्गा सप्तशतीको पाठ पनि आरम्भ हुने गर्दछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्