कस्तो दान सार्थक हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल September 29, 2019


न सा विद्या न तद्दानं न तच्छिल्पं न सा कला
न तत्स्थैर्यं हि धनिनां याचकैर्यन्न गीयते ।।
– नीति वचन

त्यो विद्या के विद्या, त्यो दान के दान, त्यो शील्प के शिल्प, त्यो कला के कला, त्यो स्थिरता के स्थिरता जसले माग्ने वा याचकलाई गन्दैन वा मान्दैन वा दान दिदैन भने ।


विद्या आर्जन गरेर ज्ञान अरुलाई बाड्न सक्दैन भने त्यो विद्याको कुनै अर्थ रहँदैन । विद्या जति दान गर्यो उति बढ्दै जान्छ । दान नगरिएको विद्यालाई व्यर्थको संज्ञा दिइएको छ । यसैगरी वस्तुको दान पनि जीवनमा गर्न सक्नु पर्दछ । दानहीन जीवनको पनि अर्थ रहँदैन । यसैगरी कलाका क्षेत्रमा जतिसुकै निपूण भए पनि त्यो कला त्यो शील्प अरुलाई बाँड्न सकेन भने त्यो शील्पकला पनि व्यर्थ नै हुन्छ भनिएको छ । यसैगरी याचक अर्थात् माग्नेले भन्न खोजेका कुरा नै सुन्न नसक्ने व्यक्ति स्थिर व्यक्ति हुन सक्दैन । स्थिर हुन नसक्नु पनि व्यर्थ नै हो । अतः याचकका कुरा सुन्न सहयोग गर्न नसक्नेको विद्या, दान, धन, कला आदि सबै कुरा व्यर्थ हुन्छन् त्यसैले जीवनमा दान गर्नुपर्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–