भक्तपुरका शक्तिपीठमा नवरात्रको मेला आरम्भ


हरेकपल September 29, 2019


असोज १२, काठमाडौँ । घटस्थापनासँगै भक्तपुरमा नवरात्रिको मेला आरम्भ भएको छ । भक्तपुरका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुईपटक मेला लाग्छ । विशेषगरी रातको समयमा भव्य मेला लाग्ने भएकाले नवरात्रि मेला पनि भन्ने गरिन्छ ।

नवरात्रि मेलामा यहाँका शक्तिपीठमध्ये पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन फेरि ब्रह्मायणीमा भव्य मेला लाग्ने गर्दछ ।

बिहान मन्दिरमा पूजा गर्नेहरुको घुइँचो लाग्छ भने साँझमा मेला भर्न टोलटोलबाट बाजागाजाका साथ हजारौँ भक्तालु मन्दिर जाने भएकाले यसको रौनक मध्यरातिसम्म रहने गर्दछ । नवरात्रिको अन्तिम दिन नवमी र दशमीको दिनमा भने भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट मेला भर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।