चीनको प्रभाव र नेपालका विषयमा शनिवासरीय वहस


हरेकपल September 29, 2019

असोज १२, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा चीनको अन्तराष्ट्रिय प्रभाव र नेपालको अवस्था विषयमा छलफल भएको छ । उक्त कार्यक्रममा आचार्यले नेपालमा यतिखेर यहि विषयको धेरै चर्चा भएको छ । जनवादी गणतन्त्र चीनको जनवादी व्यवस्थाको स्थापना सन् १९४९ सालमा भयो । त्यसबेलादेखिनै माओत्सेतुङ चीनका प्रमुख नेता, अध्यक्ष भए । उनको मृतु पछि पनि अध्यक्ष मानेर महासचिव बनाउन थालियो । नेपालका केही कम्युनिष्ट पार्टीहरुमा पनि त्यहि थियो । अहिलेको सिजिङपिङ पनि कम्युनिष्ट पार्टीको महासचिव र चीनको राष्ट्रपति हुन् । माओत्सेतुङको समयमा चीनले अनौठो ढंगले आफ्नो काम सम्पन्न गरेको थियो ।

विकास पनि अलिअलि गरेको थियो । उनले अमेरिका लगायत लोकतन्त्रवादी देश, पूजीँवादी अर्थव्यवस्था भएका देशहरुसँग दुस्मनी जस्तै थियो । सन् १९६६ देखि १९७६ उनको देहावसान नहुदासम्म सास्कृतिक क्रान्ति चीनमा एकदमै चलेको थियो । साँस्कृति क्रान्तिका नाममा सैद्धान्तिक विरोधीहरुलाई कडा व्यवहार गर्ने स्थीति त्यो बेलामा थियो । उहाँको मृत्यु १९७६ मा भएपछि उहाँको युुग २ वर्ष जति रह्यो । त्यसपछि १९७८ सालमा तेङ्गसियाओपिङ्को युग सुरु भयो । १९७८ सालबाट १९९२ सालसम्म उहाँको युग रह्यो । ०९२ पछि पार्किङसन भन्ने कडा रोग लाग्यो, १९९७ सालमा देहावसान भए । आफ्नो समयमा चीन साम्यवादी भएपनि पूजीँवादी आर्थिक नीति लागु गरे । उनको भनाई भनेर भन्ने चलन पनि छ – बिरालो कालो वा सेतो जे भएपनि मुसा मार्न पर्छ । चीनले पैसा कमाउनु पर्छ भन्ने नीति अघि ल्याए ।

यत्रोधेरै जनसंख्या भएको देशले पूजीँ संकलन गर्नु प¥यो भन्ने उनको आसय थियो । उनलाई आधुनिक चीनको रचनाकार भनेर सबैले नाम लिए । वाकोफिङ्ग हुदा १९८८ मा तियानमेन भयो, त्यो विशेष घटना भएको छ चीनले कहिल्यै पनि विर्सन नसक्ने । त्यसपछि सिजिङ्गपिङ्गको उदय विशेष उल्लेखनीय रह्यो । सिजिङ्गपिङ्ग २०१३ बाट राष्ट्रपति भए । उनी आएपछि चीनले नयाँ कोल्टो फेर्न लाग्योकी भनेजस्तो देखियो । मैले पनि सन् २००५ मा चीनको भ्रमण गरेको थिए । अहिले नेपालमा सि विचारधार भनेर चीनबाट मान्छे आएर नेपाल कम्युनिष्ट पार्टीसँग गोष्टि भयो । नेपालमा भएको यस्तो पहिलो पटक हो । चीनले पनि विदेशमा गरेको पहिलो पटक नैै हो भन्छन् । नेकपा सक्रिय भए जस्तै कांग्रेस सक्रिय हुनुप¥यो भन्ने मात्र पनि होइन । नेपाली कांग्रेसको अस्तित्व के हो ? कार्यक्रम के हो ? विचारधारा के हो ? हाम्रो कुरा स्थापित हुदै जानु प¥यो । अहिले हामीले यस तर्फ ध्यान दिनु पर्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले १९८८को चीनको तियानमेन चोकमा घटेको घटना कसैले विर्सन नसकिने खालको भयो । त्यो बेला सोभियत युनियन रस्साका राष्ट्रपति मिखायल गोर्वाचोभ चीन भ्रमण गरिरहेका थिए । हामीलाई नेपालमा लोकतन्त्र कसरी ल्याउन सकिन्छ भन्ने भइराखेको समयमा चीनमा नै लोकतन्त्र आयोभने झन गजबै हुनेभयो भनेर टिभी हेरिएको थियो । टिभिमा कमेन्टटेटरले भनिराखेको थियो भने सोभियत युनियनबाट आएको राष्ट्रपतिलाई यो देखाउन चीनलाई लाजभयो होला ! पाहुना नआएको बेलाभए सहन सक्थ्यो होला, पाहुना भएको हुदा सहन नसक्ने भयो । त्यतिखेरसम्म कुन कम्युनिष्ट शासन पहिला जान्छ भन्ने टुङ्गो थिएन । त्यो कमेन्ट गर्नेलाई चीनको कम्युनिष्ट शासन जान लाग्यो सोभियत सघको सुरक्षित छ भने जस्तो लागेको बुझिन्थ्यो । केहीसमय अघि भेनेजुएलाको सन्दर्भमामा नेकपा अध्यक्ष प्रचण्डको विज्ञप्ती आयो, प्रधानमन्त्री विदेशमा थिए । यस भनाइले हाम्रो संक्रमणकालको न्याय टुङ्गाउनका लागि झन्झट् आउनसक्छ भन्ने लाग्यो हामीलाई पश्चिमाहरुको सहयोग संक्रमणकालको न्याय टुङ्ग्याउन चाहिएको छ । किन यस्तो गरेको होला ? यसमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले राजदूत बोलाएर भन्नु भयो यो हाम्रो सरकारको नीति पनि होइन, पार्टीको नीति पनि होइन । फेरि अहिले हेर्दा संक्रमणकालको न्याय भत्काउन खोजिएको हो की जस्तो लाग्दैछ ।

अहिले संस्थाहरु बलिया छैनन् । निरंकुशतामा जानका लागि वातावरण हुन्छ । अहिले विद्युतमा ५०÷६० अर्वको लगानी हुने र भारतमा विक्रि गर्ने कुरा संसदमा ल्याएनन् । त्यसैगरी अमेरिकासँग चीनसँग छैन भने चीनसँग अमेरिकासँग छैन भने डिप्लोमेटिकमा एक अर्काको कुरा नहुने जस्तो गरी सरकार भन्दैछ, त्यस्तो हुदैन, डिप्लोमेटिक कुरा दोहोरो हुन्छ । एकलेवलसम्म अर्कोअर्को देशसँग भएको कुरा भन्ने गरिन्छ । आजको हाम्रो शासनले कम्बोडिया हेरेको छ, चीन मात्र हेरेको भए हामीलाई चिन्ता थिएन । चीनको दुई पाटो छ, सिद्धान्त हामीलाई चाहिएको भएन, अरु हामीलाई चाहिन्छ । कानुनहरु थिचोमिचो गर्ने ल्याएको छ । कानुन बनाउदा कहाँ कसरी छिराउछन् थाहा नहुने संसदीय अभ्यासको विपरित हुने काम गरिरहेका छन् । सरकारको ध्यान निरंकुश अझै हुँदै जानुपर्छ, नियन्त्रण अझै हुँदै जानुपर्छ, त्रास अझै दिदै जानु पर्छ भन्ने छ । नेकपाको स्कुल विभागले गरेको काम विचारधारासँग जोडिएको जस्तो लाग्छ । चीन, नेपाल, भारतको सम्बन्धबाट नेपालले फाइदा लिनेकुरामा कुनै विवाद नै हुदैन । चीन हाम्रो पुरानो भरपर्दो मित्र हो । कहिल्यै हामीलाई अपमानित गरेको छैन । कलकारखाना, सडक बनाउन चीनले मद्दत गरेको छ । सिजिङ्गपिङ्गको भ्रमणलाई हामीले स्कुल विभागको प्रशिक्षण भन्दा फरक रुपमा हेर्छौं । चीन नेपालको बाटो भएर तल जान खोजेको छ हामीसँग कुरा गर्दा विकासको लागि चीनसँगको हाम्रो आबद्धता अत्यन्तै जरुरी छ । नेपाली कांंग्रेसले चीनसँगको सम्बन्धलाई दर्शन, निरंकुश शासन व्यवस्थाका लागि यो प्रशिक्षण र नेपाल चीनको सम्बन्धलाई छुट्याएर प्रस्तुत हुन चाहन्छ ।

पूर्वसचिव श्यामप्रसाद मैनालीले हामीले साइकोफेन्सी गरेर लोकतन्त्र रहदैन । यसकुरामा हामी सतर्क हुनुपर्छ । भारतमा पनि कांग्रेसको सरकार भएपनि मोदिको सरकार भएपनि परराष्ट्र नीतिमा फरक पर्दैन । उनीहरुको नेपाललाई हेर्ने दृष्टिकोण लामो समयदेखि एउटैछ । नेपालमा नेपाली कांग्रेसले लामोसयमसम्म शासन गरेर बस्दा पनि त्याो लेभलमा विकसित गर्न सकेनौं । एमालेहरु सरकारमा हुँदा जस्तो खालको ढुलमुले नीति देखिन्थ्यो त्यसले गर्दा उहाँहरुबाट यो अपेक्षा गर्ने कुरा आएन । यतिखेर अमेरिका भर्सेज चाइना सक्रिय भएर आइराखेको छ । यहाँ दुईतिहाई कम्युनिष्ट सरकार भएको सन्दर्भमा सि को नेपाल भ्रमण उनीहरुको दृष्टिबाट हेर्दा एकदमै सान्दर्भिक छ । तर सि को सम्मेलन हुँदैजादा नेपालको नेकपाको नेतृत्व भ्रष्टै भ्रष्ट छ । यो तहको नेतृत्वले नेपाललाई कम्युनिष्ट बनाउन सक्दैन । कांग्रेसको तुलनामा कम्युनिष्टहरु धेरै भ्रष्ट छन् । सि पथको प्रशिक्षणले यहाँ कम्युनिजम हुनै सक्दैन तर रणनीतिक रुपमा अमेरिकालाई देखाउन पनि चीन यहाँ बलियो रुपमा आफुलाई देखाउन खोज्छ । राष्ट्रपतिको भ्रमणको संघारमा यो प्रशिक्षण नगरेको भए कम्युनिष्टहरुलाई राम्रो हुन्थ्यो । कम्युनिष्ट सरकारबाट लम्पसारवाद मात्र देखिएको छ । सि पथ सैद्धान्तिक रुपले मान्न सकिदैन तर चीनमा नै खाद्यान्न मिसावटमा गरिएको दण्ड, भ्रष्टाचार गरेकालाई दिने दण्ड, कानुनी राज्य संचालनलाई सकारात्मक रुपमा लिन सकिन्छ । चीन र भारतसँग आर्थिक रुपले फाइदा लिन पनि हामी ठिक परराष्ट्रनीति बनाएर अघि बढ्नु पर्छ ।

वरिष्ठ पत्रकार गोविन्द अधिकारीले अहिलेको तातो प्रसङ्गमा कुरा गर्ने हो भने आधा जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्छ । नेपाली कांग्रेस गिरिजाप्रसाद कोइरालाको अवसान पछि विस्तारै–विस्तारै हराउदै–हराउदै गएको छ । अन्तराष्ट्रि बजार, नेपाली समाजमा कांग्रेसको भाउ घट्दै गएको छ । त्यसैको प्रभाव चीनका कम्युनिष्टले आफ्नो विस्तार गर्ने र नेपालका कम्युनिष्टहरुलाई पनि चीनकोे जस्तो गरेर चलाउन पाए हुन्थ्यो भनेर रहरहुनु स्वभाविक हो । उनीहरु त्यही दिक्षामा हुर्केको हुँदा रहर भयो भनेर धेरै चिन्त गर्नु पर्दैन । त्यो रहर पुरा गर्न नदिने कांग्रेसले हो । कांग्रेससँग त्यो क्षमता, त्यो दृष्टिकोण छ जस्तो लाग्दैन । सोच्ने सोचाइमा अहिले सरकारमा भएको र प्रतिपक्षमा भएकाको धेरै टाढा छैन । संझौता गर्नहुने र नहुने दुबैमा संझौता भइराखेको हुन्छ । सिद्धान्तसँग संझौता नगर्ने, व्यवहारमा संझौता गर्ने हुनुपर्ने हो । यहाँ अहिले व्यवहार र सिद्धान्तलाई एकै ठाउँमा राखिएको अवस्था छ । चीन आफ्नो हैसियतमा बस्नुु पर्छ नेपालमा भन्ने हैसियत तिब्बत हो । नेपाली सबैले तिब्बत विर्सिए । चीनको सहयोग लिदापनि नेपालले तिब्बती शरणार्थीलाई पालेर लिन्थ्यो । संसारमा शरणार्थी पाल्ने मध्येको उत्तम नमुना देखाएको भनेर युएनले नेपाललाई पदक नै दिएको थियो । त्यसले गर्दा चीन नेपालसँग धेरै जोरीखोज्न हुन्न भन्ने पनि थियो यो हैसियत हाम्रो गुमिसकेको छ । कांग्रेसको सरकार हुँदा तिब्बतिहरुलाई प्रदर्शन गर्न रोक लगाइयो । अशान्ति गर्न दिन नहुने शान्तिपूर्ण रुपमा गर्न दिनु पथ्र्यो यो अन्तराष्ट्रिय कानुनको आधारमा पनि रोक्न नहुने थियो । चीनलाई खुसीपार्न भनेर कांग्रेसले नै सैद्धान्तिक आधारहरु छोडेपछि जग खलबलिनेनै भयो । यहाँको लोकतन्त्रका लागि चीनको विकास मोडल उपयुक्त होकी होइन बहस हुनु पथ्र्यो । वीपीको मोडेलले नेपालमा के हुदैनथ्यो भनेर बहस गर्नुपथ्र्यो । वीपीले भनेजस्तो मानविय विकासका दृष्टिले अहिले प्रविधिको विकासमा आएको परिवर्तनले नेपाल अर्कै बनिसक्थ्यो । प्रत्येक व्यक्ति स्वतन्त्र हुने र स्वतन्त्रताको माया हुने स्वतन्त्र चिन्तनको विकास गर्न सक्ने अवस्था भएको भए हामी अधिनायकवादीको चंगुलमा पर्छौंकी भनेर पनि सोच्न पर्दैनथ्यो । हामीले बन्दीपुरमा कलेज खोल्न जान भनेर लागेको भनेर उत्साहित हुदै भनेको वीपीले भन्नु भयो असल शिक्षक खोज, असल मान्छे बनाउने तिरलाग कांग्रेस, संगठन बनाउन पर्दैन, कलेज खोलेर मात्रै हुदैन ।

अर्का वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले यहाँ चीनले गरेको प्रशिक्षणबाट के देखिन्छ भने नेपालको कम्युनिष्ट सरकार परराष्ट्र नीतिबाट सिफ्ट गर्न खोजेको देखिदैछ । शक्तिको बढोत्तरीसँगै चीनले पनि परराष्ट्र नीतिमा प्रबुद्ध खालको भूमिका खेल्न खोजेको होकी भन्ने देखिन्छ । त्यसैले दुबै देशको परराष्ट्र नीति कता जादैछ भन्ने विषयमा हामीले छलफल गर्नुपर्छ । बराक ओवामाले भनेका थिए, १५ वर्षमा चीन यहि रफ्तारमा गयो र हाम्रो यही अवस्था रहेमा चीनले हामीलाई आर्थिक उन्नतिमा उछिन्छ भनेका थिए । उनले थप भनेका थिए, प्राविधिक पक्षमा हामीलाई उछिन्न ५०औं वर्ष लाग्छ । आज त्यो हैसियतमा पुग्दा चीन रिभर्स भएको देखिन्छ । नेपाली कांग्रेस र चीनको सम्बन्ध के हो ? यो विषय पनि अनुत्तरीत छ । चीनको विकास कम्युनिष्ट दर्शनसँगको हो । नेपालमा त्यो मोडेल कसरी लागु गर्न सकिन्छ । सि को विचारधारा भनेको चीनीयाँ चरित्रको समाजवाद ! चिनियाँ चरित्रको समाजवाद कम्युनिष्ट दर्शन, कम्युनिष्ट पद्धतिबाट नै जोडिन्छ । सि को विचारधारा कम्युनिष्ट नै हो । नेपालका कम्युनिष्टहरु लोकतन्त्रप्रति प्रतिबद्ध छैनन् । चीन, नेकपा र पश्चिमाको लागि पनि यो प्रयोग अबश्य हो । सि लाई माओवादी पक्षका कट्टर कम्युनिष्ट हुन् नै भनिन्छ । विकासको प्रलोभनमा कम्युनिष्ट करण गर्न खोजिदैछ ।

उक्त कार्यक्रममा डा.रामप्रसाद मैनालीले अहिले चाइना नेपालमा अक्रामक रुपले आउन खोजेको छ । कुनै पनि राष्ट्रले आर्थिक बृद्धि हासिल गरिसकेपछि आफ्नो राजनीतिक प्रभाव पार्न खोज्नु स्वभाविक हो । नेपालका मानिसलाई लगेरर भ्रमण गराउने, प्रशिक्षण गर्ने दुईतिन वर्षमा तिव्रगतिले बढेको छ । अहिले कयौं मेयरहरु उता पढ्न गएका छन्, यता प्रशिक्षण चलाइएको छ । कांंग्रेसको सरकारर भएको समयमा पनि चाइनाले यसरीनै सहयोग गर्न चाहेको थियो । नेपाललाई दिने सहयोगमा कण्डिसन कम भएको अमेरिका लगायतका अन्य मुलुक भन्दा चाइना, जापानबाट आउथ्यो । विकासको मोडेल सिक्न प¥यो । चाइनाले अमेरिकन कम्पनीहरु ल्याएर विकास ग¥यो । हाम्रो भौगोलिक अवस्थाले पनि त्यो सम्भव छैन । हाम्रोेमा ठ्याक्कै चाइनाको विकास मोडल पनि लिने अवस्था छैन । उनीहरुले पार्टी कार्यकर्तालाई कसरी परिचालन गर्दा रहेछन् त्यो हेरौं ! हाम्रोेमा पनि गरिवि निवारणमा धेरै पैसा खर्च भएको छ । उनीहरुको पनि गरिवि निवारण रहेछ, टोलमा कार्यकर्ताको मोवाइल नम्बरसम्म देखाएर राख्ने र परेको समस्या त्यहाँ भनेपछि सहयोग पाउने हुदोरहेछ । आक्रामक रुपले बैचारिक रुपमा आएपनि हामी अर्को पक्षमा लागेर खेल मैदान नबनौं । त्यो क्षमता हामीले देखाउनु प¥यो ।

महासमिति सदस्य रामेश्वर केसी नेपाल चीन र भारतको बिचमा नेपाल छ । चीन र भारतसँग हाम्रो कुटनीतिक सम्बन्ध कमजोर भएको देखिदैछ । परराष्ट्र नीति हाम्रो कमजोर भयो । हामीलाई भारतसँग जोडेर कमजोर भइयो । नेपाल संकटमय अवस्थामा जादैछ । सरकार निरंकुशतातर्फ अगाडि बढेको छ । वीपीले पनि चीनको भ्रमण गर्नु भएको छ । लोकतन्त्रका लागि लडेका मानिसहरुलाई अहिले नेकपा र चीनको कम्युनिष्ट पार्टी विच भएको प्रशिक्षणले चिन्ता बढाएको छ ।

नेपाली कांग्रेस काठमाडौंका जिल्ला सदस्य रामचन्द्र घिमिरेले छिमेकी मुलुक चीनले नेपाललाई सम्माननै गरेको इतिहास छ । केही दिन अघि नेकपा र चीनको कम्युनिष्ट पार्टीको प्रशिक्षण सैद्धान्तिक रुपले भएको देखिन्छ । सिद्धान्त भन्दा बाहिर अर्थ नीति हुन्छ भन्ने लाग्दैन । राजनीतिक सिद्धान्तले नै अर्थनीतिलाई प्रभाव पार्छ । चीनमा हाम्रो जस्तो खुला विरोध गर्न नपाईने भएको हुँदा उत्पादनको लागि वातावरण भयो होला । चीन देङ्गसियाओपीङ्गले लोकतन्त्र तर्फ अगाडि बढाउन खोज्नु भयो होला । तर तियानमेन स्क्वायरमा भएको घटना पछि लोकतन्त्रको सम्पूर्ण बाटो बन्द भयो जस्तो लाग्छ । हाम्रोमा राजा भएको लोकतन्त्र पनि नियन्त्रण खालको भयो भनेर लोकतान्त्रिक गणतन्त्रमा छौं । हामीले अभ्यास गरिरहेको लोकतन्त्र र सरकार संचालनको जिम्मा पाएको नेकपा कम्युनिष्ट सिद्धान्तप्रति अघि बढेको देखिदैछ । नेकपा र चीनको कम्युनिष्ट पार्टी विच भएको प्रशिक्षणमा नेपाली कांग्रेसले केही कुरा स्पष्ट रुपमा भन्न जरुरी छ । नेपाली कांग्रेस चीनको सिद्धान्तलाई कसरी समर्थन गर्न सक्छ ? मानवअधिकारको विषयमा चीनमा पनि मानवअधिकार हुनुपर्छ भनेर कांग्रेसले भन्न सक्नु पर्छ । चीनसँगको विकास ग्लोवलाईजेशनसँग बाटो निर्माण लगायत आउने कुरा हुनसक्ला ! अन्यथा प्रत्यक्ष रुपमा हाम्रो जनशक्ति पनि चीनमा जान मिल्दो रहेनछ । चीनसँगको हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ, पार्टी–पार्टी विचको संवाद भइरहनु पर्छ । यतिखेर नेपालको परराष्ट्र नीति कमजोर भएको देखियो । त्यसैगरी नेतृत्व पनि उचो हुन सकेको देखिएन ।

प्रदेश ३का सांसद जीवन डंगोलले हिजो नेकपा एमालेलाई कांग्रेस जस्तै हो भनिन्थ्यो त्यो मौकाको पर्खाइमा मात्रै हो की ? केपी वलीले भनेका थिए, अब आउने चुनावमा प्रतिपक्ष हुँदैन, यसलाई कांग्रेसले कति गम्भीर रुपमा लियौं । त्यो आज सैद्धान्तिक रुपले प्रष्टाउन खोजिएको देखियो । चीनको विस्तारवादी नीतिसँग मिल्दोजुल्दो भएको होकी । जुनसुकै पार्टीको भएपनि नेपाली भएर सोच्नु प¥यो । हामी घर भित्रको परराष्ट्रनीति एउटै बनाउन नसक्दाको प्रभाव यो हो भन्ने मलाई लागेको छ ।

कार्यक्रममा चीनले कुनैनकुनै रुपमा आफ्नो प्रभाव फैलाउन खोज्छ । चीनको अर्थ व्यवस्था व्यापक छ । चीन राजनीतिक रुपमापनि सक्रिय हुदै प्रभाव पार्न खोजेको छ । कताकता लोकतन्त्रकोलागि फेरि लड्नु पर्नेत होइन भन्ने भइराखेको छ । भरत शर्मा, श्याममणी आचार्य, अनिष श्रेष्ठ, रमिला वाग्ले र रमेश महर्जनको उपस्थिति थियो ।