आज ब्रह्मचारिणी भगवतीको उपासना गर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १३ गते


हरेकपल September 30, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १३ गते असोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको द्वितीया तिथि बेलुका ७।५४ बजेसम्म रहनेछ । सो यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । चित्रा नक्षत्र राति ८।२२ बजेसम्म रहनेछ । ऐन्द्र योग र बालव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।५५ मा छ भने सूर्यास्त बेलुका ५।५१ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।
आज नवरात्रको दोस्रोदिन ब्रह्मचारिणी भगवतीको उपासना गरिन्छ । तपप्रधान भगवतीको स्वरू नै ब्रहमचारिणी हो । यस्ती भगवतीको स्वरूप कठोर तप गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने रहेको पाइन्छ । भगवतीको शिरमा अर्ध चन्द्र र शरीरमा अनेक प्रकारको आभूषण विराजमान छन् । दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमण्डलु धारण गर्नुहुने भगवतीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य र दिव्य रहेको छ ।


भगवतीले हिमालय कन्याको रूपमा उत्पन्न भई भगवान् शिवजीलाई प्राप्त गर्न कठोर तपस्या गनुृभएको कथा पुराणमा वर्णन पाइन्छ । सोही तपस्याका कारण भगवतीको नाम ब्रह्चारिणी पनि रहनगएको हो । तीन हजार वर्षसम्म भगवतीले घोर निराहार र निर्जला तपस्या गर्नुभएको थियो । पहिलो वर्ष फलाहार मात्र गरेर, दोस्रो वर्ष पातको मात्र आहार गरेर र सोपश्चात् निराहार व्रत बस्नुभएका कारण तीनै लोकमा हाहाकार मच्चियो, यहाँसम्म कि स्वयं ब्रह्माजी पनि आत्तिन थाल्नुभयो । देवगण पनि डराउन लागे, भयङ्क अवस्थको सृजना हुने अवस्था आएपछि ध्यानमा रहनुभएका शिवजी जागृत भई वरदान दिएका रोचक कथा पनि पाइन्छन् । ब्रह्मचारिणी भगवतीको आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्ने फल बताइएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्