असोज १३, काठमाडौँ । नेपाल टेलिकमले आफ्नो फोरजी सेवालाई विस्तार गर्नेभएको छ । बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु हुने नेपाल टेलिकमले जनाएको छ ।
देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। ‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उनले भने, ‘अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गर्छौं।’
टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्दै छ। मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ।
त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिए।
पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उनले बताए। ‘हरेक घण्टामा एउटा नयाँ बीटीएस स्थापना भइरहेको हुन्छ’ उनले भने ‘बीटीएस स्थापना भएसँगै नयाँ ठाउँमा फोरजी परीक्षण र सेवा सञ्चालनको काम पनि नियमित हुन्छ।’ गोरखापत्रमा खबर छ।