आज चन्द्रघण्टा भगवतीको उपासना गर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १४ गते


हरेकपल October 1, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १४ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको तृतीया तिथि बेलुका ६।०० बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । स्वाती नक्षत्र राति ७।१२ बजेसम्म रहनेछ । वैधृति योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।५६ मा छ भने सूर्यास्त बेलुका ५।५० बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् ।


आज नवरात्रको तेस्रोदिन चन्द्रघण्टा भगवतीको उपासना गरिन्छ । शिरमा अद्र्धचन्द्रयुक्त घण्टा आकारको मुकुट धारण गरेकी हुनाले यिनलाई चन्द्रघण्टा भगवती भनिएको हो । अद्र्धचन्द्रयुक्त घण्टाकारको मुकुट धारण गरेकी, विशुद्ध स्वर्णमय दिव्य शरीर भएकी, दसवटा भुजा र उक्त भुजाहरूमा भिन्नभिन्न शस्त्रास्त्र धारण गरेकी, सिंहमाथि विराजमान, समस्त भूत, प्रेत, पिशाचादिबाट उत्पन्न हुने बाधाहरू नाश गरी भक्तको दुःखकष्ट हरण गर्ने चन्द्रघण्टा भगवतीको महिमा पाइन्छ ।


चन्द्रघण्टा भगवतीको स्वरूप अत्यन्त कल्याणकारी र शान्त छ । जसको शरीरबाट विशुद्ध स्वर्णमय कान्ति फैलिरहेको हुन्छ । यिनका दश हातमध्ये दाहिने पट्टिका पाँचवटा हातमा खड्ग, गदा, त्रिशूल, धनुष र भाला तथा देब्रेपट्टिका पाँचवटा हातमा क्रमशः कमलको फूल, कमण्डलु, जपमाला, वरमुद्रा र अभयमुद्रा रहेका छन् । सधैं रातो वस्त्रमा सजिएर सिंहमाथि सवार हुने भगवतीको नाम पनि चन्द्रघण्टा नै हो । त्यसैले यिनलाई सिंहवाहिनी पनि भन्ने गरिन्छ ।
आफ्ना भक्तजनलाई दुःख दिने भूत, प्रेत, पिशाचहरूलाई घण्टाको चण्डध्वनिको आवाजबाट भगाई यिनले सबै दिशाहरूबाट रक्षा गरी तिनका दुःख र पीडालाई नाश गरिदिने भगवतीको महिमा पाइन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्