बलात्कारको आरोपपछि अन्ततः सभामुख महराले दिए राजीनामा


हरेकपल October 1, 2019

काठमाडौं, १४ असोज । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपेका संघीय संसदका सभामुख कृष्णबहादुर महरा राजीनामा दिएका छन् । आज बिहानैदेखि परामर्शमा जुटेका महराले अन्ततः सभामुखको पदबाट राजीनामा दिएका छन् ।

उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।

महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् । सभामुख जस्तो गरिमामय पदमा रहेका व्यक्तिले विश्वको प्रचलनअनुसार सम्बन्धित पदबाटै राजिनामा दिने गरेका छन् । महराले पनि सभामुख र सांसद दुवै पदबाट राजिनामा दिएर अनुन्धानलाई सघाउनु उत्तम हुने विश्लेषकहरुको भनाई छ ।