अहिँसात्मक क्रान्तिचेतले मात्र समाजमा दिगो रुपान्तरण


हरेकपल October 1, 2019

-हरिविनोद अधिकारी –

गान्धी जयन्ती विशेष

अहिलेको संसारमा अहिँसात्मक आन्दोलनबाट र सरकारलाई प्रत्यक्ष शान्तिपूर्ण असहयोगबाट सत्तामा जरो गाडेर बसेको पक्ष सजिलै वहिर्गमित पनि हुन्छ र त्यसले बदलाको भावना नलिई बाहिर कतै बसेर सहयोगी बन्छ भन्ने स्वैर कल्पना सायद अपत्यारिलो पनि हुनसक्छ । तर भारतको मामिलामा यस्तो भयो । आफ्नो उपनिवेशलाई चुनौती दिएर आफूलाई सत्ताबाट बाहिरिन बाध्य पार्ने भारतलाई बेलायतले फेरि कहिल्यै त्यहाँको शासनमा कुनै हस्तक्षेप गरेन र अहिले राष्ट्रमण्डलीय समूह बनाएर भारत त्यस्को बरु नेताको रुपमा देखिन्छ किनभने संसारमा सबैभन्दा ठुलो प्रजातन्त्रलाई जो हाँक्छ ।

अंग्रेजी उपनिवेशबाट भारतलाई स्वतन्त्र गराउनका लागि लाग्नेमध्येका एक साह्रै महत्वपूर्ण व्यक्तित्व तथा भारतीय स्वतन्त्रता संग्रामका एक अपरिहार्य नेता तथा अहिंसाका पुजारी मोहनदास करमचन्द गान्धीको जन्मजयन्ती संसारभर अक्टुबर २ तारिखमा मनाइन्छ । उहाँको जन्म गुजरातको पोरबन्दरमा २ अम्टुबर १८६९मा भएको थियो । उनै गान्धीलाई भारतमा र संसारभर महात्मा गान्धीका रुपमा चिनिन्छ र भारतले त उनलाई राष्ट्रपितासमेत मानेको छ ।

भारतलाई अंग्रेजको उपनिवेशबाट स्वतन्त्र दिलाउने महत्वपूर्ण संघर्षलाई शान्तिपूर्ण तरिकाले सञ्चालन गरेकाले त्यो संघर्ष यसरी सफल भयो कि त्यसपछि भारतमा अंग्रेजी शासनको कुनै अवशेष पनि बाँकी रहेन । भारतीय प्रजातन्त्रलाई दुर्घटनामा पार्ने कुनै प्रयाससम्म पनि भएन । सामान्यतः संघर्षपश्चात वा क्रान्तिपश्चात प्रतिसंघर्ष वा प्रतिक्रान्ति हुने गर्छन् पूर्व शासकहरुका अवशेषबाट । क्रान्तिको परिणामलाई निस्तेज गराउन पहिलेका शासकहरुले गराउने प्रतिक्रान्तिबाट भारत यसकारणले बच्यो कि त्यहाँ अहिँसात्मक आन्दोलनले स्वराजको परिणाम दिएको थियो । बरु स्वतन्त्रता प्राप्त हुँदा नै शर्त यस्तो रह्यो कि भारतबाट पाकिस्तान टुक्रेको होे । त्यही पाकिस्तान पछि टुक्रेर बाङ्लादेश बन्यो ।

गान्धीको सम्झना यसकारणले बारम्बार आउने गर्छ कि त्यो अचिन्त्य परिणाम ल्याउन उहाँको अहिँसात्मक स्वभाव र आन्दोलनमात्र सम्भव भएको थियो । दोस्रो विश्वयुद्धको राप र तापमा सेकिएको संसारमा एउटा त्यस्तो अद्भूत नेता पनि थियो जसले कहिल्यै घाम नअस्ताउने साम्राज्यलाई सत्याग्रहमार्फत् नै भारत छोडेर जान बाध्य पा¥यो । वास्तवमा गान्धीजीमा त्यो क्रान्तिचेत अफ्रिकामा नै खुलेको थियो । स्थानीय अफ्रिकी कालामाथि बेलायतबाट आएका केही गोराहरुले सत्ताधारीका रुपमा गरेको अन्याय , अत्याचारले नै अन्यायका विरुद्धमा लड्ने चेतनाले नागफणी उठाएको थियो । तर उहाँमा एउटा आध्यात्मिक चेतना पनि पलाएको थियो कि घृणा, द्वेष र हिँसाले गरिने संघर्ष टिकाउ हुँदैन र त्यो हिँसा प्रतिहिँसामा बदलिन सक्छ । प्रेमभन्दा ठुलो कुनै हतियार छैन भन्ने भावनाले नै अफ्रिका र भारतमा त्यो रुपान्तरणको क्रान्तिले सफलता पाएको थियो ।

महात्मा गान्धीकै पथमा लागेर नेल्सन मन्डेलाले दक्षिण अफ्रिकालाई स्वतन्त्र पार्नुभयो अंग्रेजविरुद्ध लडेर तर अहिँसात्मक तरिकाले । गान्धीकै सपनाले संयुक्त राज्य अमेरिकामा कालाजातिका बाराक ओबामा राष्ट्रपतिबाट निवर्तित भइसक्नु भएको छ किनभने मार्टिन लुथर किङ् जुनियरको त्याग र बलिदानले अमेरिकामा महिलाले समान हक पाए र काला जातिले गोरासरहको नागरिक हक पाए जुन गान्धीको नै पथप्रदर्शन भनेर उनी मान्दथे । उनको पनि गान्धीकै जस्तो हत्या भयो र पनि त्यो मिसनले पूर्णता पाउँदैछ अमेरिकामा ।

महात्मा गान्धी अहिले पनि संसारभर बाणीविहीनहरुको वाणी अर्थात् भ्वाइस अव भ्वाइसलेस बनिरहनु भएको छ जबकि उहाँको सहादत भएको पनि सात दशक हुन लागेको छ ।
आज पनि करोडौँ— अरबौँ दुःखी—घरबारविहीन तर स्वतन्त्रताप्रेमी उन्नायकहरूका लागि ज्युँदो ईश्वरका रूपमा प्रेरणाका श्रोत उहाँ नै हुनुहुन्छ । उहाँमा एउटा दृढता थियो—मलाई विश्वास छ, हिंसाको तुलनामा अहिंसा अनन्तरूपले माथि हुन्छ, दण्डको तुलनामा क्षमा नै धेरै मानवोचित वा मान्छेप्रति न्यायगर्ने एउटा सबल आधार हुन्छ ।

गान्धीजीलाई आज पनि किन सम्झने हो भने हिँसाले ग्रस्त संसारमा कहिले हो त हिँसाबाट त्राण पाउने भन्ने कुनै तिथि थाहा छैन । हिँसाले प्रतिहिँसा जन्माएको यो विश्व परिस्थिति र परिवेशमा मानवीय मूल्य र आध्यात्मिकताका आधारमा सम्बन्ध स्थापना हुनुपर्छ मान्छे मान्छेका बिचमा र देश देशका बिचमा पनि ।

अहिले गान्धीकै देशमा तनाब छ पाकिस्तानसँग । संसारलाई अहिँसाको पाठ पढाउने गान्धी , उहाँको अहिँसाको प्रयासबाट प्राप्त उपलब्धि प्रजातान्त्रिक भारत र उहाँका पदचिन्ह पछ्याउँदै शासन गर्ने भन्ने भारतमा अनेक खालका हिँसाले शिर उठाएको छ । दक्षिण एसियाको क्षेत्रीय सम्मेलनसमेत भारत र पाकिस्तानका बिचमा हुँदै गरेका हिँसात्मक झडपका कारणले नहुने वातावरण बन्दैछ । तर उहाँकै विचारको विस्तारका लागि विश्वव्यापीरुपमा अहिँसाले मात्र शान्ति स्थापना हुन्छ भन्ने धारणासहित राष्ट्रसंघले अक्टुबर २ लाई भने अहिँसा दिवस मनाइरहेको छ ।

गान्धी भारतको राष्ट्रपति पनि हुनभएन,,प्रधानमन्त्री पनि बन्नुभएन, गभर्नर जनरल पनि बन्नुभएन तर भारतलाई औपनिवेशिक जन्जिरबाट स्वतन्त्र गराउन सक्षम भएकाले उनलाई कृतज्ञ भारतीयहरूले राष्ट्रपिता मान्दछन् । महान भारतीय जनतालाई औपनिवेशिकताको कठोर काराबासबाट उन्मुक्ति दिन गान्धीले अहिंसाको अत्यन्त धारिलो हतियार प्रयोग गरेको स्वर्णिम इतिहास छ । हजारौँ ट्याङ्क, लाखौँ बन्दुक र करोडौँ गोलीसँग लड्न उनले सत्य र अहिंसाको दुईधारे हतियार प्रयोग गरे । जुन उदारता र महानताका साथ गौरबशाली नेतृत्व गान्धीले प्रदर्शन गरे, त्यसैले पोरबन्दरको एउटा बालक एकदिन महान भारतको महात्मा गान्धी बने , भूगोलको सीमा चिरेर स्वाभिमानी , स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्य र मान्यताको धरोहर र अहिंसाको ज्वलन्त द्योतक भएर विश्व समुदायमा अनुप्राणित हुनपुगे । आज अहिँसाको कुरा गर्दा आधुनिक विश्वमा गान्धीको नाम नै प्रेरणाका स्रोतका रुपमा पाइन्छ र हिँसालाई प्रयोग नगरेर पनि शासन चलाउन सकिन्छ भन्ने आत्मबल उहाँमा थियो भन्ने अनुभूत गर्न सकिन्छ । जनताप्रति अगाध आस्था र प्रेम थियो , सत्य र अहिंसाप्रतिको अविचल आस्थाले बरु सहिद हुन रुचाउनु भयो, तर कसैसँग असत्यको पक्षमा घुँडा टेक्नुभएन । आफ्नो आस्थाका विरुद्धमा, आफ्ना अन्तरात्माको आवाजका विरुद्धमा ।

भनिन्छ—गान्धीलाई एउटा ज्योतिर्मय अन्तर्दृष्टि भएछ —सहादत प्राप्त गर्नुभन्दा दुई दिन अघिमात्र , र भन्नुभएछ—मलाई कसैले गोली हानेर मार्छ भने पनि म उसलाई छेक्ने पनि छैन, म उसलाई दण्डको भागी गराउन सिफारिस पनि गर्दिन र ऐया पनि भन्दिन । यो भनाई २८ जनबरी १९४८को थियो । ३० जनबरी १९४८मा जब उहाँलाई नत्थुराम गोड्सेले गोली हान्दा—मात्र उहाँका मुखबाट अन्तिम शब्द ूहे राम१ हे राम११ हे राम१११ूमात्र निस्कियो । यो नै एउटा महात्माको महानिर्वाण थियो र गोलीको बदला सत्यको पक्षमा क्षमा मात्र थियो अनि हिँसको बदला अहिँसा थियो, बदलाको भावनाभन्दा सहिष्णुताको प्रवल पक्षपात थियो ।

अहिँसा भनेको सहमतिमा काम गर्ने भावना र अभ्यास हो । छलफलबाट आउने सत्यको खोजीमा जहिले पनि अहिँसाले मात्र भयरहित वातावरण तयार गर्छ भनेर नै गान्धीले भयबाट मुक्तिलाई आफ्नो बलियो हतियार बनाउनु भएको थियो । स्वार्थले भय उत्पन्न गर्छं र स्वार्थले उत्पन्न गर्ने भयले सत्यको घाँटी निमोठ्छ भन्ने भावनामा उहाँ सदैव अडिग रहनु भएकाले नै भारत स्वतन्त्र भएपछि उहाँको त्यति वास्ता भएन जति हुनुपथ्र्यो भन्ने इतिहासका जानकारहरुको भनाइ छ ।
हिँसात्मक क्रान्तिचेतले समाजलाई रुपान्तरण त गर्छ जुन क्षणिक पनि हुनसक्छ तर अहिँसात्मक क्रान्तिचेतले जुन आन्तरिक र वाह्य रुपान्तरण गर्छ , त्यो दिगो हुन्छ । गान्धीले संसारलाई रुपान्तरणका लागि सचेत गराउनु भयो तर क्षणिक होइन आध्यात्मिकताका साथ र दिगो हिसाबले ।

पछिल्लो अवधिमा हामी पनि हिँसात्मक चेतनाबाट रुपान्तरणको बाटोमा लागेकाले त्यसले बाटो ठम्याउन सकेन किनभने हिँसात्मक बाटोले कहिल्यै पनि शान्तिपूर्ण चेतनालाई सम्मान गर्दैन । लाग्थ्यो जनयुद्धको सफल अवतरणपछि मुलुक एउटा सही गन्तव्यतिर जानेछ । लाग्थ्यो राजतन्त्रको अन्त पनि मुलुक एउटा सही गन्तव्यतिर उन्मुख हुनेथ्यो । लाग्थ्यो संविधान सभाबाट संविधानको निर्माण भए पछि देशले नयाँ गन्तव्यतिर पाइला चाल्ने थियो । तर त्यसो भएन , मुलुक झन झन संक्रमणकालतिर उन्मुख छ र कसैले पनि भन्नसक्ने अवस्था छैन कि अब के हुन्छ ?

अझै पनि लाग्छ— लोकतन्त्रप्रतिको आस्थालाई अहिँसात्मक तरिकाले मानवीयता र अधिकारको पक्षमा रुपान्तरण गर्नेगरी स्थितिलाई सामन्जस्यतिर डो¥याउन सकिन्छ तर हिँसाको छायामा हुर्केको रुपान्तरणको नक्कली स्वरुपको कुनै आकार पनि छैन, कुनै गन्तव्य पनि छैन र कुनै ठोस योजनाद्वारा अनुप्राणित पनि छैन देशको शासन प्रणाली । भारतमा त एउटा विश्वव्यापी प्रजातान्त्रिक मान्यतालाई अंगीकार गरिएकोले शासनमा स्थायित्व त देखिन्छ तर हाम्रो क्षेत्रमा पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बाङ्लादेश, भुटान र नेपालमा शासनको स्थायित्व हुन सकेन जसले गर्दा हिँसाले शिर उठाएको छ र अहिँसाले हार मानेको छ ।

जब हामीले गान्धीलाई सीमारहित तरिकाले मान्ने भए पछि उहाँका आदर्शलाई अभ्यास गर्नु आवश्यक छ र त्यस्तै सामाजिक वातावरण बनाउनु जरुरी छ । अनि मात्र संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन गरेको आह्वानको पनि अर्थ रहन्छ, भारतले पनि त्यो अभ्यासलाई आफ्नो नीतिमा प्रयुक्त गरेको देखिएमात्र राष्ट्रपिताको पगरी गुथाएको अर्थ रहन्छ । विश्वका शोषित , पीडित र वाणीविहीनहरुको वाणीका रुपमा अहिँसात्मक क्रान्तिचेतले रुपान्तरणको सही अर्थमा बाटो देखाएको मानिने छ ।

आखिर हिँसाले हिँसा नै जन्माउँछ भन्ने कुरा बारम्बार प्रमाणित भएपछि पनि हामी किन हिँसाको बाटो नै रोज्छँौ भन्ने प्रश्नको उत्तरचाहिँ खोज्नै पर्छ यदि गान्धीजीप्रति आस्था प्रदर्शन गर्ने हो भने । गान्धीजी अहिले पनि सीमाविहीन विश्व नागरिक बन्नुभएको छ शान्तिकामी र दिगो विकासका लागि प्रजातन्त्रका पक्षधर हुनेलाई । गान्धीजीप्रति श्रद्धा व्यक्त गर्नका लागि क्षमा, आस्था, श्रद्धा र प्रेमजस्ता सकारात्मक पक्षलाई जीवनमा प्रयोग गर्न सक्नुपर्छ , अनि उहाँप्रति सच्चा सम्मान हुनेछ । हिँसाका विरुद्ध उहाँ अहिले पनि बाङ्गो लौरो उचालिरहनु भएको जस्तै लाग्छ समाज सच्च्याउनका लागि ।

गान्धीका विश्वजनीन विचार र नेपालका सम्बन्धमा उहाँका विचारको उपादेयताका सम्बन्धमा विद्वान , विचारक तथा अध्येता प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईका विचार सहित । उहाँले गान्धीसम्बन्धी संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित गान्धी(गीता)को अनुवादसमेत गर्नुभएको थियो ।

सुनौँ उहाँका भनाई यस अङ्कमा ।