आज कूष्माण्डा भगवतीको उपासना गर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १५ गते


हरेकपल October 2, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १५ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको तृतीया तिथि राति ४।८ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । विशाखा नक्षत्र बेलुका ६।२१ बजेसम्म रहनेछ । विष्कुम्भ योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।५७ मा छ भने सूर्यास्त बेलुका ५।४९ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् ।


आज अर्थात् आश्विन शुक्लपक्षको चतुर्थी तिथिका दिन दुर्गा भगवतीको चौथो शक्तिको रूपमा प्रादुर्भाव भएकी श्री कूष्माण्डा देवीको पूजा आरधना हुने गर्दछ । कूष्माण्डा भगवती संसारकी आदि माता हुन् । ब्रह्माण्डको सृष्टिअगाडि चारैतर्फ अन्धकारमय थियो । सृष्टिविहीन आदिकालमा यिनले अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति गरकाले यिनको नाम कूष्माण्डा रहन गएको हो । यिनलाई सृष्टिको आदिस्वरूप र आदिशक्ति भनी पुकारिन्छ ।


कुष्माण्डको अर्थ कुभिण्डो हो । यस दिन कुभिण्डोको बलि दिइन्छ जुन भगवतीलाई अत्यन्त प्रिय हुन्छ । सोही प्रय भएकै कारण पनि कूष्माण्डा भगवती नाम रहन गएको हो । यिनी सधैँ सूर्यमण्डलको भित्री तहमा निवास गर्छिन् । यिनको शरीरको ज्वाज्ज्वल्यमान कान्ति पनि सूर्य झैं देदीप्यमान भई सम्पूर्ण ब्रह्माण्डमा फैलिरहेको छ ।


कूष्माण्डा भगवतीले आफ्ना आठ हातहरूमा क्रमशः दायाँतर्फ कमण्डलु, धनुष, वाण, कमलको फूल र बायाँतर्फ अमृतपूर्ण कलश, चक्र, गदा र आठौं हातमा सबै सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी छन् । त्यसैले यिनी अष्टभूजा देवीको नामबाट पनि प्रसिद्ध यिनी सधैँ सिंहमा सवार भइरहन्छिन् ।


कूष्माण्डा भगवतीको उपासनाले सम्पूर्ण पाप मोचन भई सबै प्रकारका दुःख कष्ट रोग, व्याधि नाश हुनुका साथै आयु आरोग्य एवं ऐश्वर्यको प्राप्ति हुने शास्त्रीय मान्यता रहेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्