आज स्कन्दमाता भगवतीको उपासना गर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १६ गते


हरेकपल October 3, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १६ गते बिहीवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको पञ्चमी तिथि दिवा ३।१२ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । अनुराधा नक्षत्र बेलुका ५।५३ बजेसम्म रहनेछ । प्रीति योग र कौलव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।५७ मा छ भने सूर्यास्त बेलुका ५।४७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।


आज अर्थात् आश्विन शुक्लपक्षको पञ्चमी तिथिका दिन स्कन्दमाता भगवतीको उपासना हुने गर्दछ । कुमार कार्तिकेयको नाम ‘स्कन्द’ हो । स्कन्दकी आमा भएकीले ‘स्कन्दमाता’ नाम रहेको हो । चार भुजा भएकी स्कन्दमाताको आसन कमल हो भने वाहन सिंह छ । स्कन्दमाताको आराधनाले लौकिक, पारलौकिक चाहना पूरा हुने गर्दछन्  ।


चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले वरदमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा विराजमान रहन्छिन् । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्