आज कात्यायनी भगवतीको उपासना गर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १७ गते


हरेकपल October 4, 2019


श्रीगणेशायनमः ।।
आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १७ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको षष्ठी तिथि दिवा २।२५ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । ज्येष्ठा नक्षत्र बेलुका ५।५१ बजेसम्म रहनेछ । आयुष्मान् योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।५८ मा छ भने सूर्यास्त बेलुका ५।४५ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।


आज नवरात्र अन्तर्गतको षष्ठी तिथि अर्थात् कात्यायनी भगवतीको उपासना गर्ने दिन हो । महर्षि कात्यायनको पुत्रीका रूपमा उत्पन्न भगवती कात्यायनीको नवरात्रअन्तर्गत षष्ठी तिथिमा विशेष उपासना हुने गर्दछ ।


कत ऋषिका पुत्र कात्यायनले अथक तपस्या गरी पुत्रीको रूपमा प्राप्त गरेकाले भगवतीको नाम कात्यायनी रहेको हो । मस्तकमा अर्ध चन्द्र धारण गरेकी देवीको स्वरूप नाना प्रकारको अलंकार र आभूषणबाट सुशोभित छ । चार भुजाले युक्त देवीका दाहिने हातमा वर तथा अभय मुद्रा तथा बायाँ हातमा पुष्प तथा तरवार रहेका छन् । कात्यायनी देवीको वाहन सिंह हो ।


ब्रह्माजीको कठोर तपस्या गरेर दैत्य महिसासुरले केवल स्त्रीका हातबाट मात्र मृत्यु हुने वर प्राप्त गर्दछ । सो पश्चात् तीनै लोकमा वितण्डा मच्चाउन थाल्छ । सारा देवगण चिन्तित भई केही उपाय निकालिन्छ । ब्रह्मा, विष्णु, शंकर, इन्द्र, यम, वरुण आदि समस्त देवताहरूले आफ्नो आफ्नो तेजको अंशबाट एक शक्तिलाई उत्पन्न गराए र उनै शक्तिलाई आफ्नो आफ्ना अस्त्र शस्त्र युक्त शक्तिहरू प्रदान गरे । महर्षि कात्यायनले सर्वप्रथम यिनै देवीको आराधना गरी पुत्रीको रूपमा प्राप्त गरेको कथा पुराणमा वर्णन पाइन्छ । पछि महिषासुरलाई वध गरेपछि देवीको महिषासुरमर्दिनी नाम पनि प्रसिद्ध भयो ।


कात्यायनीको स्वरूप अत्यन्त नै दिव्य एवं भव्य छ, ब्रज मण्डलकी अधिष्ठात्री देवी कात्यायनी भगवान् श्रीकृष्णलाई पतिको रूपमा प्राप्त गर्न ब्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको आराधना गरेका थिए ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्