आज फूलपाती, कालारात्रि भगवतीको उपासना गर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १८ गते


हरेकपल October 5, 2019



श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १८ गते शनिवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको सप्तमी तिथि दिवा २।८ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । मूल नक्षत्र बेलुका ६।१८ बजेसम्म रहनेछ । शोभन योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।५८ मा छ भने सूर्यास्त बेलुका ५।४४ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् ।


आज नवरात्रको सातौँ दिन फूलपाती हो । यसदिन कालरात्रि भगवतीको उपासना हुने गर्दछ । रात्रिकालीन समयमा कालारात्रि भगवतीको विशेष पूजा आराधना हुने गर्दछ । कालो वर्णको भयानक शरीर भए तापनि सधैँ शुभ फल दिने देवी कालरात्रि हुन् । महाकाली, भद्रकाली, भैरवी, रुद्राणी, चामुण्डा, चण्डी, रौद्री झैँ शुभंकारी पनि उनको नाम हो । नकारात्मक ऊर्जालाई विनाश गर्ने देवीका तीन नेत्र, चार भुजा छन् र वाहन गधा हो ।


फूलपातीका दिन विभिन्न प्रकारका पत्र पुष्पादि घर घरमा भिœयाई भगवतीको समीपमा राखिन्छ । यस दिन आठ वर्षीया कन्यालाई शाम्भवी नामले सम्बोधन गरी विशेष पूजा पनि गरिन्छ । साथै यस दिन सरस्वतीको पनि विशेष पूजा हुने गर्दछ । नवपत्रिका अर्थात् नौ थरीका पत्र पुष्पादि(फूलपाती) घरका पूजा स्थापनामा भिœयाइन्छ । नवपत्रिकामा केरा, दारिम, धान, वेसार, मानक, कचु, वेल, अशोक र जमरा पर्दछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्