आज महाअष्टमी, महागौरी भगवतीको उपासना गर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन १९ गते


हरेकपल October 6, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको १९ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको महाअष्टमी तिथि दिवा २।२२ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । पूर्वाषाढा नक्षत्र बेलुका ७।१५ बजेसम्म रहनेछ । अतिगण्ड योग र बालव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।५९ मा छ भने सूर्यास्त बेलुका ५।४३ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् ।


आज नवरात्रको आठौँ दिन महाअष्टमी हो । महाअष्टमीका दिन महागौरी भगवतीको उपासना हुने गर्दछ । चार हात भएकी, वृषभ तथा सिंहवाहिनी, सन्तापहारिणी देवीको नाम महागौरी हो । महागौरीलाई सेतो रङ प्रिय छ, त्यसैले उनका वस्त्र तथा गरगहना सेतै छन् । सेतो वस्त्रादि मन पराउने भएकीले श्वेताम्बरधरा नामबाट पनि चिनिन्छिन् । महागौरी भक्तजनलाई असत्यको बाटोबाट हटाई सत्यको मार्गमा लगाउँछिन् ।


महाअष्टमीका दिन भद्रकाली देवीको विशेष पूजा अर्चना हुने गर्दछ । यस दिन सिंहपूजा, भगवती देवीको षडङ्गपूजा, शस्त्र पूजाका साथै नवदुर्गा भगवतीको पूजा आराधना हुने गर्दछ । विशेष बलि प्रदान पश्चात् महाअष्टमीको पूजा आराधना हुन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्