सभामुख महराको राजीनामा स्वीकृत, वेबसाइटबाट समेत हट्यो नाम


हरेकपल October 2, 2019

काठमाडौं, १५ असोज । यौनदुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा अन्ततः स्वीकृत भएको छ । आज संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन गरेसंगै संघीय संसदको बेवसाइटबाट उनको फोटो र नाम पनि हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा खाली राखिएको छ ।

संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले महराले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनले छानविन नसकिञ्जेलका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए ।

नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएमा स्वतः स्वीकृत भएको मानिने व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २११ उपनियम १ मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्ने उल्लेख छ । त्यस्तो राजीनामा उपनियम २ बमोजिम बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गर्नुपर्ने वैधानिक प्रावधान छ ।

संघीय संसदको प्रतिनिधिसभाको बैठक चालु नरहेकाले अर्को सभामुखको निर्वाचन नहुन्जेलसम्म उपसभामुख शिवमाया तुम्बाहाम्फेले कार्यवाहक सभामुखको रूपमा उपसभामुखको कार्यकक्षबाटै जिम्मेवारी बहन गर्नुपर्नेछ ।

प्रतिनिधिसभा नियमावलीमा सदनको अधिवेशनको शुरुवात र अन्त्य सभामुखले गर्ने प्रावधान छ । तत्काल आवश्यकता नभए अर्को (हिउँदे) अधिवेशन पुस महिनासम्म बोलाउने सरकारको तयारी छ ।

सभामुखको राजीनामाबारे संवैधानिक प्रावधान के छ?

संविधानको धारा ९१ अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख पद रिक्त हुने प्रावधान उक्त धाराकै उपधारा (६) ले तीन वटा प्रावधान राखेको छ।

जसमा पहिलो बुँदामा निज सदस्य प्रतिनिधि सभाको सदस्य नरहेमा पदमुक्त हुने व्यवस्था छ। उक्त उपधाराको खण्ड (ख) मा निजले लिखित राजीनामा राष्ट्रपति समक्ष दिएमा र (ग) अनुसार निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको खण्डमा सभामुखको पद रिक्त हुने व्यवस्था छ।

सांसद पद के हुन्छ ?
पार्टी सचिवालयले सांसद पदबाट समेत राजीनामा दिन महरालाई निर्देशन दियो । तर उनले सांसद पद छोडेका छैनन् । नेकपाकै नेताहरु महरालाई अब पार्टीले सांसद रूपमा नचिन्ने तर्क गर्छन् । पार्टीले राजीनामा मागिसकेपछि महराले संसदीय दलको बैठकमा भाग लिन नपाउने उनीहरुको तर्क छ । महराले सांसद पदबाट राजीनामा नदिए नेकपाले उनलाई हटाउन सक्छ । दल त्याग ऐनअनुसार महरालाई सांसद पदबाट हटाएको जानकारी पार्टीले संसद् र निर्वाचन आयोगलाई गराउन सक्छ । महरालाई पार्टीले कारबाही गरेर सांसद् पदबाट हटाए उनले जितेको निर्वाचन क्षेत्र खाली हुन्छ र उपनिर्वाचन गराउनुपर्ने हुन्छ ।

करणी सम्बन्धी कसूरको कानूनले के भन्छ?

मुलुकी ऐन संशोधन गरी बनेको मुलुकी अपराध संहीताको परिच्छेद १८ मा करणी सम्बन्धी कसूर र सजायको व्यवस्था गरिएको छ। यदि सभामुख महरामाथि लागेको आरोप पुष्टि भयो भने उनीमाथि कम्तिमा सात वर्षदेखि १० वर्षसम्म जेल सजाय हुन सक्नेछ।

ऐनको दफा २१९ को उपदफा (३) को (ङ) अनुसार, १८ वर्ष वा त्यो भन्दा बढी उमेरकी महिलामाथि जबरजस्ती करणी गरेको आरोप पुष्टि भएमा त्यस्तो व्यक्तिलाई सात वर्षदेखि दश वर्षसम्म कैद हुने व्यवस्था गरेको छ।

त्यसैगरी उक्त ऐनको दफा २२९ को उपदफा २ अनुसार, माथि उल्लेखित दफा अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले एक वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि भने उजुरी लाग्ने छैन।