मोदीको सन्देश : ‘सी पथ’ बाट नेपालको हित हुँँदैन


हरेकपल October 3, 2019

काठमाडौं, १५ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई काठमाडौंमा चिनियाँ कम्युनिष्ट पार्टीको बिदेश बिभाग प्रमुखले राष्ट्रपति सि जिनपिङ पथको प्रशिक्षण दिएको एक सातापछि भारतीय जनता पार्टीका एकजना नेताले सी पथको खुलेर बिरोध गरेका छन्।

गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका सन्दर्भ पारेर महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय प्रवक्ता विजय सोनकर शास्त्रीले नेपालमा ‘सी पथ’ (चिनियाँ कम्युनिष्ट पार्टीकोे विचार ) को चर्चा सुनिए पनि असमानता र गरीबीका विरुद्ध गान्धी पथ आवश्यक रहेको बताए। शान्ति र स्थायित्व तथा विश्ववन्धुत्व कायम गरी मानवताको विकासका लागि महात्मा गान्धीको आदर्श र विचार नै उपयुक्त भएको उनले उल्लेख गरे।

बीजेपीका पूर्ब सांसदसमेत रहेका सोनकरले भने गान्धी पथ एउटा अठोट हो, शान्ति र स्थायित्वको मार्ग हो, स्वतन्त्रता र लोककल्याणको उत्तम मार्ग पनि यही नै हो। सी पथको बिरोधमा सत्तारुढ भाजपाका तर्फबाट आएको यो नै पहिलो औपचारिक धारणा हो। भाजपाका प्रवक्ताको यो भनाईलाई मोदीको आधिकारिक भनाइका रुपमा नेपालमा अर्थ लगाइएको छ।

कार्यक्रमका अर्का अतिथि भारतका पूर्व विदेशमन्त्री एवं कांग्रेस आईका नेता सलमान खुर्शीदले नेपालमा पनि गान्धीका अनुयायी प्रशस्तै रहेको भन्दै शान्ति र विकासका लागि गान्धीको आदर्श सधैं सान्दर्भिक हुने बताए। उनले गान्धीको विचार हरेक क्षेत्र र समयसापेक्ष हुने भएकाले यसबारे गहन अध्ययन गर्न युवाहरुलाई आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीको अहिंसाबादी दर्शनले मात्र नेपालको उन्नती हुने बताए। सभापति देउवाले गान्धीले देखाएको त्यहि बाटोमा हिड्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह पनि गरे। उनले गान्धीलाई विश्वकै दूरदर्शी नेताको रुपमा चित्रण गरे।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिचारको राजनीतिलाई गान्धीले प्रष्ट साथ व्यबहारमा उतारेको उल्लेख गर्दै नेपाल र भारतलाई एकतामा गाँस्न गान्धीको बिचारले महत्वपूर्ण भूमिका खेलेको बताए। नेता पौडेलले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको आशीर्वाद रहेको भन्दै उहाँकै दर्शनबाट प्ररित भएर सत्याग्रह शुरु गरिएको उल्लेख गरे।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले लामो संघर्षपछि स्थापना भएको गणतन्त्र,संघीयतालगायत परिबर्तनका एजेण्डाहरुमाथि खतरा आएको भन्दै त्यसको रक्षाका लागि कांग्रेस कांग्रेसले कसैसंग कुनै सम्झौता नगर्ने स्पष्ट पारे। उपसभापति निधिले गान्धीको अहिंसाबादी पथ नै नेपालका लागि उपयोगी हुने बताए।

कांग्रेस पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौलाले गान्धीको अहिंसावादी दर्शन बिश्वजगतका लागि अनन्तकालसम्म प्रेरणाको स्रोत हुने बताए।