महरा प्रकरणपछि रोशनी पतिसँग ‘अलग’


हरेकपल October 3, 2019

काठमाडौं, १६ असोज । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले श्रीमानसँग सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाएकी छन्। उनका पति चित्रजंग शाहीले आज आफूहरु अलग–अलग बस्ने निर्णय गरेको भन्दै सहमतिपत्र सार्वजनिक गरेका छन्।

चित्रजंग शाहीको फेसबुकबाट

रोशनी शाही र चित्रजंग शाहीले हस्ताक्षर गरेको सहमतिपत्रमा भनिएको छ– प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदारहेछन्। तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रियाको निरन्तरताका साथ।’

उनले फेसबुकमा लेखेका छन्, ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गति सँगै अलग हुने निर्णयमा पुगेका छौं । धन्यवाद शुभचिन्तकहरुमा ।’

उनले फेसबुकमा राखेको सम्झौता पत्रमा ‘सम्वन्धविच्छेद’ शब्द भने प्रयोग गरिएको छैन । आज (बिहिबार) कै मिति राखेर चित्रजंग र रोशनी दुवैले हस्ताक्षर गरेका पत्रमा लेखिएको छ, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष बिते । समयको गतिसँगै असन्तुष्टि र असहमति आउँदा रहेछन् । तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’

उनीहरुले अब सम्बन्धविच्छेदको कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेका छन्। रोशनी शाहीले गत आइतबार सभामुख कृष्णबहादुर महराले बलात्कार तथा कुटपिट गरेको भन्दै सोमबार मिडियासमक्ष प्रस्तुत गरेकी थिइन्। तर मंगलबार उनले आफ्नो बयान बदल्दै महरा आफ्ना बाबुसमान भएको भन्दै उनले केही नगरेको र आफ्नो कोठामा पनि नआएको बताएकी थिइन्।
शाहीले बलात्कार आरोप लगाएपछि महराले सभामुख पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ।