महरालाई कार्वाही र अजयको जीवन रक्षाको प्रश्न


हरेकपल October 3, 2019

विशेष टिप्पणी

हरेकपल

– पुरुषोत्तम दाहाल-

नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराको अनैतिक चरित्र पर्दाफास भएपछि अहिले महराको मुखमा सल ओढाएर उनको इज्जत जोगाउन लागि परेकाहरुले त्यस घिनलाग्दो र क्रूर योैनकाण्डको पर्दाफास गर्ने युवा पत्रकार अजयबाबु शिवाकोटीलाई ज्यान मार्ने तहसंमको धम्की दिन लागेको समाचार प्रकाशित भइरहेका छन् ।

अपराधकर्ममा संलग्नहरु जहिले पनि संचारमाध्यम र संचारकर्मीहरुलाई पहिले किन्ने प्रयास गर्दछन्, सकेनन् भने कुनै कमजोरी खोज्दै उनीहरुसंग सौदावाजी गर्ने प्रयास गर्दछन् र त्यो पनि पार नलागेमा ज्यानलिने धम्की दिन्छन् । महराको सन्दर्भमा पनि अहिले यही भनाइ दोहोरिन लागेको छ । हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले महरा र रोशनी शाही नाम गरेकी स्वास्थ्यकर्मीका बीचको अनैतिक संबन्धलाई अत्यन्त प्रामाणिक रुपले सार्वजनिक गरेका थिए । उनले रोशनीले दिएको भिडिओ अन्तर्वार्ता, महराले लिएर उनका कोठामा पुर्याएको रक्सीको वोतल, महराले हातहाल्दा भएको द्वन्दमा लागेका घाउ, महरा भाग्न खोज्दा त्यही छाडेका जुत्ताको तलुवा, कोठाको अस्तव्यस्त रुप समेतको तस्वीरलाई सबैले वुझ्ने गरी अनलाइनमा प्रकाशित र प्रसारित गरेका थिए ।

अजयले यो समाचार प्रकाशित गरेपछि महराले भोलिपल्ट नै पदबाट सशर्त् राजीनामा दिन पुगेपनि रोशनीले तुरुन्त आफ्नो वयान वदलेकी छिन् । रोशनीसंग २०४८ देखिनै संबन्ध भएको स्वीकार गर्दै आफू डिप्रेसनको विमारी भएको अवस्थामा पत्रकारले मलाई जेपायो त्यही वकायो त कहिले जवर्जस्ती महरा विरुद्ध वोल्न लगायो भन्ने जस्ता अत्यन्त अविस्वसनीय वयान दिन लागिन् । पहिलो दिन अर्को व्यवस्था नभएसंम भनेझै राजीनामा दिएका महराले पुनः राजीनामा दिन बाध्य हुनुपर्यो र अव उनी सभामुख पदबाट च्यूत भएका छन् । एकप्रकारले महराको राजनीतिक जीवन समाप्त हुन पुगेको छ भने रोशनीको पनि सामाजिक संबन्धहरु अत्यन्त अपमानजनक । रोशनी र उनका पतिका बीच छाड्पत्र गरिएको हस्ताक्षर सहितको पत्र सार्वजनिक भइसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेताहरुमा यौन विचलनका कथा नयां होइनन् । एकजना शीर्ष वामपन्थीका विषयमा एउटी महिलाले केही वर्ष पहिले नै यौनशोषणको संगीन आरोप लगाएर पुस्तकनै प्रकाशित गरेकी थिइन् । केही महिनादेखि वालिका खड्काले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध यौन शोषणको आरोप निरन्तर लगाउदै आएकी छिन् । हिंसाका कालमा समेत रामबहादुर थापा वादल र पंफा भुसाल प्रकरण चर्चामा आएको थियो र उनीहरु दुवैलाई पार्टीले कार्वाही गरेको माओवादीको दस्तावेजमा नै उल्लेखित छ । तर ती सबै विषयलाई पार्टीमा आत्मालोचना गरेपछि क्षम्य ठहराइदै गएका थिए । तर यो पटक महरा नराम्ररी यौनप्रकरणमा घाइते वन्न पुगेका छन् ।

राजनीतिमा पद, पैसा, यौन र शासकीयशक्तिको निरन्तर उपयोग हुने गरेको छ । कसैलाई यसले महान् वनाएको छ कसैलाई रसातलमा भसाएको छ । अन्तरराष्ट्रिय राजनीतिका अनेक दिग्गजहरुका अनगिन्ती कथाहरु छन् यस प्रसंगमा । नेपालमा नै अनेक प्रत्यक्ष र अप्रत्यक्ष रुपले यस्ता कुकृत्यहरु सुनिने गरेको विगत छ । तैपनि त्यस्तो कुकृत्यका कर्ताहरु समाजमा शीर ठाडो पारेर आदर्शका, नैतिकताका नारा ओकलिरहेको सुनिन्छ । सार्वजनिक जीवनमा रहेका अनेक रोशनीहरुको उन्नति र प्रगति भएको सुनिरहिन्छ । महरा प्रकरणले राजनीतिका अनेक चर्चितहरुका कथाहरु समेत वाहिरिनु पर्ने भएको छ । अनैतिकताको समुद्रमा वसेर सेतो पोसाकमा आफूलाई महान् वनाउनेहरु र भ्रष्टहरुको पर्दाफास हुनैपर्छ र मात्र राजनीतिमा शुद्धीकरण हुनु संभव छ । महरा प्रकरणले यस्ता धेरै सामाजिक जीवनका दुवै लिगंी खेलाडीहरुको मनमा केही कम्पन पैदा गरेको हुनुपर्छ ।

यस्ता राजनीतिलाई भ्रष्ट वनाउने चरित्रहरुको पर्दाफास गर्नु जरुरी छ । नेपाल प्रेस युनियनका महासचिव समेत रहेका अजयले जुन विस्वासकासाथ साहस देखाए त्यो प्रशंसनीय छ । महराको राजीनामा वा रोशनीको वयान परिवर्तन वा उनको पतिसंगको संवन्ध विच्छेदले मात्र त्यस निकृष्ट घटनाले उन्मुक्ति पाउन सक्देैन ।

अरुलाई जसरी जीउमास्ने वेच्ने कानूनी कार्वाही हुन्छ त्यही कानून रोशनी र महराका हकमा लागू गर्ने वा जवर्जस्ती करणीको अभियोगमा महरामाथि कार्वाही अनिवार्य छ । महरा जस्ता ठूला माछाहरुलाई उन्मुक्ति दिने तर होटल तिर युगल जोडी भएर वासवस्न पुग्ने, सामान्य व्यवसाय गरी घरधन्दा चलाउनेहरुमाथि कार्वाही गरेको स्वाड. पार्नुको कुनै औचित्य हुदैन । रोशनीको वयानमा जेसुकै परिवर्तन भएपनि त्यो या त दवावमा हो, या प्रलोभनमा हो या जीवनकै धम्की हो भन्ने सबैले वुझेका छन् । महरा प्रकरणले के अनुमान गर्न सकिन्छ भने दश वर्षे सशस्त्र हिंसाका समयमा हिंसामा लागेका त्यस्ता अनेक भेडाहरुबाट कति नेपाली निर्दोष गाउले चेलीहरु तिनीहरुको सिकार भए होलान् । अव उनीहरुको समेत खोजि हुनु आवस्यक छ ।

महराका सन्तानहरुले पनि संयम गुमाउन खोज्दै आफ्ना बाबुका अनैतिक क्रियाकलापको प्रतिरक्षागर्न खोजेको र अनेक धम्कीहरु प्रवाह गरेको सुनियो । अनैतिक कर्म गर्ने बाबुलाई उनीहरुले गौरव गर्नुभन्दा राम्रो कुरा तत्काल कानूनको कठघरमा बाबुलाई पुर्याएर आफूलाई निष्कलंक बनाउनु जरुरी थियो ।

कृष्णबहादुरको राजनीतिक भविष्य अव स्थापित हुदेैन वरु उनका सन्तानहरुले यसप्रकरणमा आफूलाई संलग्न नगरी आफ्नो राजनीतिक भविष्य निर्माण गर्नु पर्नेहुन्छ । महराका छोराहरुले सार्वजनिक रुपमा दिएको धम्की, अजयको निवास क्षेत्रमा देखिएका शंकास्पद गतिविधिका कारण र अजयलाई देखाइदिनु पर्ने केही अनैतिकताका समर्थकहरु र केही सामाजिक संजालका प्रयोगकर्ताहरुको टिप्पणीहरु हेर्दा अजयको जीवन रक्षा अनिवार्य भएको छ । सरकार यसमा गंभीर वनोस् ,हाम्रो आग्रह छ ।