गोरखा दरबारमा पृथ्वीनारायण शाहकालीन हतियार र पोशाकसहित सेना


हरेकपल October 4, 2019

गोरखा, १७ असोज । ऐतिहासिक गोरखा दरबारमा पृथ्वी नारायण शाहकालीन हतियार र पोसाकसहित नेपाली सेना बस्न थालेका छन् । कालो दौरा सुरुवाल, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा र हातमा भरुवा बन्दुक लिएर सेना दरबारको सुरक्षामा खटिएका छन् ।

सुरक्षाका लागि नेपाली सेनाको रणसिंह दल गणको पहलमा शार्दुल जंग गुल्म हनुमानढोकाको टुकुडी ल्याइएको छ । मन्दिरको दायाँबायाँ विहान ६ बजेदेखि साँझ ६ बजेसम्म उनीहरु दरबारमा रहनेछन् ।

दरबार आउने भक्तजन तथा पर्यटकले उनीहरुसँग फोटो खिच्न पाउने व्यवस्था गरिएको छ । दरबारको सुरक्षासँगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले सेना राखिएको हो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सैनिकलाई यस्तो पोशाकमा राखिएको हो ।

२०७५ साल मंसिर महिनाबाट नेपाली सेना गोरखा दरबारबाट हटाइएको थियो । तर, मन्दिर क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि स्थानीयले सेनाको माग गरेका थिए । शुक्रबारबाटै दरबार परिसरमा रहेको फूलबारी व्यारेकमा सेना पनि बस्न थालेका छन् ।