काठमाडौं, १९ असोज । यस वर्षको दसैंको टीका साइत मंगलबार बिहान १०:३५ बजे मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको शुभसाइत २१ असोज मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको हो ।
सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले टीका लगाइदिने
यसपालिको बडा दसैंमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली तथा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूकहाँ आउने सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले शुभसाइतमै आमा मिथिला पाण्डेबाट टीका लगाउने कार्यक्रम बनेको छ । त्यसपछि उनले प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रसेवक उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा टीका लगाइदिनेछिन् । सर्वसाधारणलाई भने २ बजेपछि शीतलनिवासमै टीका लगाइदिने कार्यक्रम बनाइएको छ ।
उता प्रधानमन्त्री ओलीले पनि पहिलो चरणमा पारिवारसँग टीका लगाएपछि बालुवाटार पुग्नेलाई टीका लगाइदिने कार्यक्रम तय गरिएको छ ।
सदाझैं पूर्वराजा शाहले विजयादशमीको दिन अपराह्न ४ बजेपछि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय गरिएको छ ।
महाअष्टमीमा उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने शाहको तयारी छ । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा शाहले महाअष्टमीका दिन नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र इन्द्रायणीको दर्शन गर्नेछन् ।
पोहोर राष्ट्रपति भण्डारीले सर्वसाधारण तथा उच्च पदस्थ व्यक्तिलाई लगाइदिएको टीका निकै विवादमा आएको थियो । राष्ट्रपतिसँग टीका थाप्दा घुँडा मार्न लगाइएको भन्दै चौतर्फी आलोचना भएको थियो । यसपालि भने सतर्कता अपनाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।