मित्र राजेन्द्रदेवप्रति


हरेकपल October 6, 2019

पुरुषोत्तम दाहाल

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधनको खवर सामाजिक संजालमार्फत सुनेपछि केही क्षण स्तव्ध भएं । मलाई विस्वास नै लागेन । सदा निस्पृह र निर्दोष मुस्कानकासाथ भेटिने साथी राजेन्द्रदेव विमार भएको पनि थाहा थिएन । सायद धेरै हल्ला नगर्ने स्वभावको भएर होला ।

महाष्टमीको रमझम काट्मार पूजा पाठका दिन व्यस्त मानिसहरुका माझबाट राजेन्द्र सुटुक्क एक्लै हिडेपछि धेरै संचारकर्मीहरु स्तव्ध भएको हुनुपर्छ । आंखामा राख्दा पनि नविझाउने थिए राजेन्द्र । कुनै दिन पनि उनले मानिसलाई चिसो हुने गरी वोलेको सुनिएको थिएन । यौटा भद्र, असल मानिस थिए राजेन्द्र । जीवनका अनेक आरोहअवरोह झेल्दै जीवनचर्या चलाई रहेका राजेन्द्रसंग मेरो संगतलाई स्मृतिका पत्रबाट खोल्ने सोच वनाएको छु । मेरो श्रद्धाञ्जली राजेन्द्रप्रति यही नै हो ।
राजेन्द्रसंग वि.सं. २०३४ तिर भेट भएको हो । करीव चालीस वर्ष पूरा भएछन् ।

उनी पिताजी सत्यदेव आचार्यसंग हिडेका भेटिन्थे । तनि दाजुभाइ उस्तै थिए । भद्र, अध्ययनशील र समस्याको तहसंम पुग्ने स्वभावका । त्यससमय उनीहरु कोही स्कूलमा त कोही कलेजमा पढ्थे । ०३५ सालको जेठबाट जव म आदरणीय चन्द्र झाले संपादन र प्रकाशन गर्नुभएको दैनिक नेपाल टाइम्समा संवाददाता भएर काम गर्न लागे राजेन्द्रसंगको मित्रता गाढा भयो । उनी पिताजीले चलाएको सगरमाथामा काम गर्थे । दैनिक हिन्दी नेपालीको कार्यालय डिल्लीवजारमा निरन्तर भेट्हुन्थ्यो राजेन्द्रसंग । उनी नारा, जुलुस, सडक आन्दोलन र जेल वस्ने गरी तीव्र परिवर्तनका पक्षधर थिएनन् तर परिवर्तनका पक्षमा सक्रिय थिए ।

हामी प्रायसः भइरहने पत्रकार संमेलनमा भेटिन्थ्यौं । रिपोर्टिड.का विषयमा चर्चा हुन्थे । मानिसहरुका तर्कहरु र राजनीतिक परिस्थितिका वारे वहस गरिरहन्थ्यौं । उनी नेपाल टेलिभिजनमा काम गर्न लागे तर पनि उनीसंगको मित्रता निरन्तर थियो । ०३९ तिर म निकै अप्ठेरोमा थिएं । आर्थिक संकट गहिरो थियो । होमनाथ दाइसंग राष्ट्रपुकारमा काम गर्दै गरे पनि पत्रिकाको अवस्था कमजोर थियो । म कीर्तिपुरमा एम्.ए. पढ्दै थिएं । पढाइकालागि खर्च थिएन । एक दिन राजेन्द्रसंग मेरो भेटमा भनें लौन केही उपाय छ भने कतै काम गर्नुपर्यो , पढ्न नै नसक्ने भएं । उनले तुरुन्त नै केह ीगर्ने वताए । नभन्दै भोलि पल्ट हाम्रो भेटमा भने चेतना नामको साप्ताहिक छ , त्यसका संपादक वद्रीप्रसाद गुपता हुन् । पंचायतमा काम गरे पनि उनी उदार छन् । तिमीलाई अप्ठेरो पर्दैन भने हिड कुरा गरौं ।

म र राजेन्द्र चेतनाको कार्यालय शंकटा नजीक पुग्यौं र कुराकानी भयो । मैले वद्री दाईसंग सिधा सर्त् राखें ः म त कांग्रेस हूं, पंचायतलाई समर्थन गर्न सक्दिन , तपाइ पंचायतका पक्षमा । कसरी काम संभव होला ? वद्री दाइको भनाइ वडो रोचक थियो । उहांले भन्नुभयो ः म नारा जुलुस त गर्दिन तर दलीय स्वतन्त्रताका पक्षमा छु । पंचायतलाई सुधार गर्दै बहुदलमा पुग्नुपर्छ भन्ने मेरो आसय हो । राष्ट्रपुकार जस्तो नगर्नु होला तर प्रजातन्त्रका पक्षमा नै कलम चलाउनु होला ।

वद्री दाइको भनाइको समर्थन गनर्दै राजेन्द्रले पनि काम गर्न प्रेरित गरे । उनले नै मेरो मासिक पारिश्रमिक तोकेका रहेछन्, कम्तीमा सात सय महिनाको । मेरा लागि यो रकम सही अर्थमा करौंडौंको थियो ।

नेपाल टेलिभिजनमा काम गर्दा पनि उनले कहिल्यै पत्रकारिताका मूल्यहरु विरुद्ध सत्ताको तावेदारी गरेनन् । निजी क्षेत्रको टेलिभिजनमा सहभागी भएर काम गर्दा समेत उनी पत्रकार नै थिए । सही पत्रकार थिए राजेन्द्र । केही भारतीय संचारमाध्यममा पनि उनले रिपोर्टिड. गरे । सदा सन्तुलित र पत्रकारिताको सिद्धान्त नाघेनन् । एक असल पत्रकार , एक असल मित्र र एक असल मानिस राजेन्द्रदेव आचार्यको पार्थिव अवशानप्रति श्रद्धाञ्जलिकासाथ शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना ।