फिफा विश्वकप छनोट : अस्ट्रेलियासँग नेपाल ५-० ले पराजित


हरेकपल October 10, 2019

क्यानबेरा, २३ असोज । सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दोस्रो चरणको छनोट खेलिरहेको नेपालले दोस्रो हार व्यहोरेको छ । ‘अवे’ खेल अन्तर्गत अस्ट्रेलियासँग उसकै मैदान क्यानबेरामा विहीबार भएको खेलमा नेपाल ५–० गोल अन्तरले पराजित भएको हो ।

समूह बी मा नेपालसहित अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनीज ताइपेई रहेका छन् । नेपाल पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो भने चाइनीज ताइपेईलाई २–० ले पराजित गरेको थियो ।

तर विहीबार विश्वकप खेलिसकेको अस्ट्रेलियासँग नेपाल शुरुदेखिनै दबावमा आएको थियो । क्यानबेरामा भएको खेलमा नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो । दोस्रो हाफमा सम्हालिएर खेले पनि नेपालले गोल फर्काउन असफल नै भयो । अस्ट्रेलियाले दोस्रो हाफमा २ गोल गरेको थियो ।

अस्ट्रेलियाको जितमा अस्ट्रेलियाका जेमी म्याकलरेम ह्याट्रिक तथा ह्यारी सौटरले दुई गोल गरेका थिए । लगातार नेपाली पोस्टमा चार्ज गरेको अस्ट्रेलियाका लागि छैटौं मिनेटमै जिमि म्याकलेमले पहिलो गोल गरेका थिए ।

१९ औं मिनेटमा पनि जिमिले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल थपे । यस्तै २३ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जोरी समयमा अस्ट्रेलियाले गोल गरे पनि त्यसलाई अफ साइड दिएका थिए । खेलको ५९ औं मिनेटमा ह्यारीले गोल थप्दै अस्ट्रेलियालाई ४–० ले अगाडी बढाएका थिए ।

९० औं मिनेटमा अस्ट्रेलियाका जेमी म्याकलरेमले ह्याट्रिक पुरा गर्दै अस्ट्रेलियालाई ५–० ले जित दिलाए । चार चार एकको फरमेशनमा खेलेको नेपालका लागि सुरुमा अभिषेक रिजाल स्ट्राइकरको भूमिका रहेका थिए ।

उनलाई ६६ औं मिनेटमा विमल घर्तिमगरले रिप्लेस गर्दै मैदान छिरेपनि प्रभाव भने जमाउन सकेनन् । चाइनिज ताइपेईविरुद्ध दुई गोल गरेका अन्जन विष्ट पनि ६९ औं मिनेटमा रिप्लेस भएका थिए । विष्टको ठाउँमा तेज तामाङ मैदान प्रवेश गरे ।

अब नेपालले जोर्डनसँग अवे अन्तर्गतको अन्तिम खेल खेल्ने छ । उक्त खेल २८ गते हुने छ । नेपाली टिम अस्ट्रेलियाबाट जोर्डन जाने छ । अवे खेल पछि होम गेम भने नेपालकै दशरथ रंगशालामा आयोजना हुने छन् । नेप्लेजबाट