कांग्रेसले स्थानीय सरकारमा विजयी जनप्रतिनिधि र इकाई सभापतिलाई प्रशिक्षण दिने


हरेकपल October 10, 2019

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले गाउँपालिकामा विजयी भएका आफ्ना जनप्रतिनिधि र गाउँपालिकाका इकाई सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गाउँपालिका तहमा विजयी अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखसहित सम्बन्धित गाउँपालिकाका इकाई सभापतिलाई प्रशिक्षण दिने भएको हो। प्रशिक्षण कार्यक्रम कात्तिक १ र २ गते भक्तपुरमा हुनेछ।

मध्यपुर थिमी नगरपालिकाको बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा हुने प्रशिक्षणका लागि कांग्रेसले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङको संयोजकत्वमा सहयोग समिति पनि गठन गरेको छ।

प्रशिक्षणमा वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु, पालिका तहका अधिकार र कर्तव्य, गाउँपालिका, प्रदेश र संघ बीच सम्बन्ध र साझा अधिकार, योजना र बजेट तर्जुमा, स्थानीय तहमा निर्वाचित र स्थानीय पार्टी इकाइ कार्यसमितिसँग समन्वय, आगामी निर्वाचनहरुकालागि आधार निर्माण, स्थानीय तहमा निर्वाचितहरुले सामना गरिरहेका समस्याहरु, कांग्रेसको विधान, राजनीतिक र आर्थिक नीतिहरुबारे संक्षिप्त जानकारीसहितको अवधारणापत्र प्रस्तुत गरिने प्रतिष्ठानका सचिव मुक्ति आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न चरणमा प्रशिक्षणका कार्यक्रमहरु गर्दै आएको छ । गत वर्ष प्रतिष्ठानले नेपाली कांग्रेसबाट स्थानीय तह (नगरपालिका) मा विजयी प्रमुख र उपप्रमुखहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको थियो । त्यसैको निरन्तरता स्वरुप नेपाली कांग्रेसबाट गाउँपालिका तहमा विजयी अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहित सम्वन्धित गा.पा.का नेपाली कांग्रेसका इकाई सभापतिका लागि देहायको समय, मिति र स्थानमा संयुक्त रुपमा प्रशिक्षण कार्यक्रम राखिएको छ । यस सम्बन्धमा देशका सबै जिल्लाहरुलाई परिपत्र समेत गरिसकिएको छ ।

कार्यक्रम ः मिति २०७६ कार्तिक १ र २ गते ।
समय ः   विहान ८ वजेदेखि
स्थान ः   कृषि विकास बैंकको तालिम केन्द्र बोडे, मध्यपुर थिमी न.पा., भक्तपुर

कार्यक्रमका लागि नेपाली कांग्रेसका तर्फबाट ईन्द्रावती गा.पा. सिन्धुपाल्चोकका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ्ग संयोजक रहनु भएको सहयोग समिति गठन गरिएको छ ।

प्रशिक्षण कार्यक्रम देहाय बमोजिमको अवधारणा पत्रहरुमा केन्द्रित रहनेछ  ः
वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु,
पालिका तहका अधिकार र कर्तव्य,
गाउँपालिका, प्रदेश र संघ बीच सम्बन्ध र साझा अधिकार,
योजना र बजेट तर्जुमा,
स्थानीय तहमा निर्वाचित र स्थानीय पार्टी इकाइ कार्यसमितिसँग समन्वय,
आगामी निर्वाचनहरुकालागि आधार निर्माण,
स्थानीय तहमा निर्वाचितहरुले सामना गरिरहेका समस्याहरु,
नेपाली कांग्रेसको विधान, राजनीतिक र आर्थिक नीतिहरुबारे संक्षिप्त जानकारी,
संघीय सरकारका असफलताहरु ।

केन्द्रमा सम्पर्क व्यक्तिका रुपमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहाल, सदस्य राजु नेपाल, प्रतिष्ठानका सचिव मुक्ति आचार्य, नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा र इन्द्रवती गाउँपालिका अध्यक्ष वंशालाला तामाङ रहनु भएको छ ।

मु्क्ति आचार्य
सचिव
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान