समस्यारहित सम्बन्धको यो निरन्तर यात्रा कायमै रहोस् सधैँ


हरेकपल October 11, 2019

-हरिविनोद अधिकारी –

नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपालको राजकिय भ्रमणले नेपाल र चीनका बीचमा रहेको पारम्परिक सुसम्बन्ध अझ सुदृढ हुने कुरामा कूटनीतिक क्षेत्र विश्वस्त रहेको पाइन्छ । वास्तवमा समस्यारहित छिमेकीका रुपमा नेपाल र चीन रहेका छौँ ।

महामहिम राष्ट्रपति सिको भ्रमण धेरै वर्षदेखि अपेक्षित थियो र पनि अहिलेमात्र सम्भव भएको छ । योभन्दा पहिले २३ वर्ष अघिमात्र चीनका राष्ट्रपतिको नेपाल भ्रमण सम्पन्न भएको थियो । राष्ट्रपतिहरुको भ्रमण आदान प्रदान नभए पनि नेपाल र चीनको सम्बन्धमा कहिल्यै पनि उतार चढाव आएको छैन । एउटा सार्वभौमसत्तासम्पन्न राष्ट्रलाई दिने सम्मान चीनले नेपाललाई दिइरहेको छ । नेपाल र चीनको भौगोलिक र राजनीतिक अन्तरले खासै असर पारेका छैन र नेपालको आन्तरिक मामिलामा अहस्तक्षेपकारी भूमिकामा चीन सदैव दृढ देखिन्छ ।

चीनले भारत र नेपालसँगको सम्बन्धलाई एउटै तरिकाले हेरेको पाइन्छ र पनि भारत र चीन अहिलेको विश्वको उदाउँदा आर्थिक शक्तिका रुपमा छन् । उनीहरु दुवै आफ्ना आधारभूत आवश्यकता पूरा गरेर विश्व बजारमा आफूलाई सुदृढताका साथ उभ्याएका लोककल्याणकारी राज्य पनि हुन् । चीन आफ्नो समाजवादी धारमा विकासको पथमा तीब्र गतिमा अगाडि बढिरहेको पाइन्छ भने भारतले आफूलाई विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्तिको रुपमा विकासपथमा अगाडि बढिरहेको छ । चीनले र भारतले गरेको विकासको गतिलाई हामीले पनि सगर्व पछ्याउन सक्नुपर्छ अनिमात्र हामीलृे चीन र भारतको छिमेकी भएकोमा फाइदा पनि लिनसकेको मानिन्छ । आखिर चीनले जुन विकासको तीब्रतम गति लिएको छ, त्यो फगत चिनियाँ जनताको परिश्रम र एकाग्रताले सम्भव भएको हो ।

चीन आफैँ पनि बहुआयामिक समस्यामा जेलिएको छ । बन्जर भूमि, हिमाच्छादित प्रदेशहरु, बर्सेनी बाढी पैरो र सुखाबाट पीडित छ । र पनि ती भौगोलिक र प्राकृतिक समस्याहरुलाई मानवीय परिश्रमबाट समाधान गर्दै विश्वको दोस्रो अर्थतन्त्रको रुपमा विकसित हुँदैछ । तेस्रो विश्वको नेताको रुपमा संयुक्त राष्ट्रसंघमा प्रस्तुत हुन्छ र गरिब राष्ट्रहरुलाई सहयोग गर्नका लागि हातको मुठी खोलेको देखिन्छ ।

हाम्रा लागि चीनले पूर्वाधार विकासमा दिल खोलेर सहयोग गरिरहेको छ । खासगरी नेपालको संविधान २०७२को घोषणासँगै भारतले नाकाबन्दी गरेर देखाएको असहिष्णुपनको बेलामा हामीलाई ठूलै आडभरोस दिएको थियो र आफ्ना हवाई, स्थल तथा जलमार्गहरुको उपयोग गर्नका लागि उदारता देखाएको थियो । अब हामीले स्थलमार्गको राम्रो विकास गरेर चीनसँगको विकास साझेदारीलाई अझ बढी नै विकसित गर्नु जरुरी छ ।

अहिलेको हाम्रो समस्या भनेको कुनै पनि बेलामा भारतले गर्नसक्ने स्थल, हवाई र जलमार्गको नाकाबन्दीसँग कसरी सहजीकरण गर्ने भन्ने नै हो । त्यसका लागि विभिन्न भन्ज्याङहरुबाट मोटर बाटोले नेपाल चीनको सम्बन्ध जोड्ने सँगै रेल मार्गबाट चीनबाट नेपाल हुँदै दक्षिण एसियाका अन्य देशहरुसँगको सम्बन्ध विस्तार गर्ने रहेको छ । तत्काललाई काठमाडौँ —केरुङको रेलमार्ग नै प्राथमिकताको क्षेत्रमा परेको छ । विभिन्न सुरुङमार्ग , विद्युतीकरणका लागि अन्तर्देशीय प्रसारण लाइन तथा व्यापारमा घाटा न्यूनीकरण हाम्रा प्राथमिकता हुन् । तर त्यसोभनेर न त हामी ऋणको भार नै धेरै बोक्ने अवस्थामा छौँ , न त चीन विकासलाई आफ्ना देशमा ल्याउन नै ढिला गर्न सक्छौँ । बेल्ट एन्ड रोड इनिसियटिभलाई न त छोड्न सक्छौँ जसले रेसममार्गको बाटो पछ्याउँदै विश्वसँग नेपालको प्रत्यक्ष सम्बन्ध सम्भव हुनेछ ।

हाम्रो काम भनेको भारत र चीनका बीचमा सुमधुर सम्बन्ध बनाउनका लागि सम्बन्ध सेतुको निर्माण गर्नु पनि हो , भारत र पाकिस्तानका बीचमा देखिएको कृत्रिम मनोमालिन्यलाई सार्कको अध्यक्षको हैसियतले कम गरी उनीहरुका बीचमा सुन्दर सम्बन्ध विकास गराउनु पनि हो र विश्व शक्ति राष्ट्रको रुपमा रहेको संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई पनि सुमधुर बनाई राख्ने हो । चीन हाम्रा यी कर्तव्य पूरा गर्दा जहिले पनि कूटनीतिक रुपमा सहकारी हुने इतिहासले देखाएको छ । चीनले विश्व राजनीतिक मञ्चमा नेपाललाई जहिले पनि सजिलो हुने काम गरेको पाइन्छ ।

तर हामी के कुरामा भने सतर्क हुनै पर्छ भने जे कुरामा पनि हातै थाप्ने बानी ठीक होइन । जे कुरामा पनि अरुको नक्कलै गर्नुपर्छ भन्ने पनि होइन । चीनको राजनीतिक र सामाजिक अवस्थासँग हामीलाई न त रीस छ, न त कुनै द्वेष छ न त कुनै घृणा छ । तर यसोभन्दा के पनि होइन भने अहिलेको चीनको अवस्थाका लागि चीनको हालको राजनीतिक व्यवस्थामात्रै विश्वको लागि सराहनीय छ भन्ने पनि होइन । घृणा छ भन्ने पनि होइन । जेमा पनि किन पनि हात थाप्ने वा मगन्ते रुप देखाउनु हुँदैन भने चीनमा पनि चिनियाँ जनताले परिश्रम गरेर नै आजको चीनको विकास र समृद्धिको व्यवस्था गर्न सकेका हुन् , हामी पनि अनुशासित भएर भ्रष्टाचारलाई निर्मूल गर्दै विकासलाई अगाडि बढाउन सक्छौँ ।

हामीले न त चीनका विरुद्धमा भारतको पक्ष पोषण गर्नु जरुरी छ , न त भारतका विरुद्धमा चीनको पोल्टामा नै गएर लुक्नु जरुरी छ । भारत र चीन उदाउँदा अर्थतन्त्र हुन् र उनीहरुलाई आफ्ना आफ्ना कमी र क्षमताका वारेका स्पष्ट जानकारी छ । अहिले नेपाल आउँदा पनि महामहिम सि भारतको आतिथ्य ग्रहण गरेर आउँदै हुुनुहुन्छ र नेपालमा उहाँको एउटै ध्येय हुनेछ कसरी नेपाली जनतालाई चिनियाँ जनताको माया देखाएर जाने हो ?

हामी नेपालीहरु चीनप्रति जहिले पनि अनुगृहित नै छौँ र महामहिमको मायाले ओतप्रोत नै छौँ । समय मिलाएर नेपालीहरुसँग प्रत्यक्ष भेट्न आउँदा पनि हामी धेरै खुसी छौँ र हार्दिक स्वागतका लागि तयार छौँ । जे जे सहयोग गरे पनि ती सबै नेपालको पूर्वाधार विकासका लागि कोसेढुङ्गा नै साबित हुनेछन् र अहिलेसम्मको सहयोग र सद्भावका लागि कृतज्ञता व्यक्त गर्न सक्नुपर्छ ।
अहिलेलाई महामहिम राष्ट्रपति सि चिनफिङ भ्रमण सुखदायी रहोस्, हाम्रा दुई देशका बीचमा अझ सम्बन्ध हार्दिक र सहजपूर्ण बनोस्, हाम्रा समस्यारहित सम्बन्धहरु पछि पनि यस्तै रहून् । नेपाल बसाइ अत्यन्त सुखमय रहोस् र महान चिनियाँ जनतासँगको सम्बन्ध अझ मैत्रीपूर्ण बनिरहोस् । महामहिमलाई स्वागतम् , सु–स्वागतम् ।