सिन्धुपाल्चोकमा बस दुर्घटना, कम्तीमा सातको मृत्यु, ५० बढी घाइते


हरेकपल October 11, 2019

सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ७० बढी यात्रु सवार बस दुर्घटनामा ३० जना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा सख्त घाइतेहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै छ ।

दसैँ मनाएर फर्कंदै गरेका यात्रु भएकाले बसमा कति सवार थिए भनेर यकिन छैन । प्रहरीका अनुसार मृतकको संख्या बढ्ने सम्भावना छ । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनकाअनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । दुर्घटनामा घाइते धेरै भएको अनुमान छ । थप विवरण आउन बाकी रहेको डिएपसी काफ्लेले जानकारी दिए ।

स्थानीय राजेन्द्र आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने छ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उनले जानकारी दिए ।