चिनियाँ राष्ट्रपतिसंग रात्रिभोजमा सहभागी हुनेलाई ७ बुँदे शर्त (हेर्नुहोस्)


हरेकपल October 11, 2019

काठमाडौँ, २४ असोज २४ । नेपालको राजकिय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङसंग रात्रीभोजमा सहभागी हुने नेपाली अतिथिहरु कडा अनुशासनमा रहनुपर्ने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले शनिबार साँझ सोल्टी होटलमा आयोजना गर्ने कार्यक्रम रहेको छ ।

भोजका लागि परराष्ट्र मन्त्रालयले नेपाली अतिथिलाई निम्तोकार्ड पठाईसकेको छ । भोजमा सहभागी हुने नेपालीलाई ७ बुँदे शर्त राख्दै नियमभित्र बस्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

सातबुँदे शर्त हेर्नुहोस्

– पुरुषको हकमा राष्ट्रिय पोशाक वा कालो डार्क सुट, सेतो सर्ट, तुना बाध्ने छालाको कालो जुत्ता र महिलाको हकमा राष्ट्रिय पोशाक सारी वा डार्क सुट अनवार्य रुपमा लगाउनु पर्ने ।

–सिटिङ ब्याङकेट भएको हुनाले निम्ता कार्ड प्राप्त हुनासाथ सहभागी हुने वा नहुने जानकारी शीघ्र गराउनु पर्ने ।

– सुरक्षा जाँचको कारण निम्ता कार्डमा तोकिएको समयभन्दा ४५ मिनेट अगावै भोज स्थल पुग्नुपर्ने ।

– मोवाइल फोन स्वीच अफ गर्नुपर्ने, तस्विर खिच्न नपाइने ।

– प्रमुख अतिथिले खाना ग्रहण गर्न शुरु गरेपछि मात्र आफुले शुरु गर्नुपर्ने ।

– सिटिङ डिनर चलिरहेको वेला उठ्न नपाउने, र प्रमुख अतिथि हल बाहिर निस्केपछि मात्र उठ्न पाउने ।

– पाहुनालाई प्राथमिकता दिनु पर्ने ।

नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपालको राजकिय भ्रमणले नेपाल र चीनका बीचमा रहेको पारम्परिक सुसम्बन्ध अझ सुदृढ हुने कुरामा कूटनीतिक क्षेत्र विश्वस्त रहेको पाइन्छ ।

महामहिम राष्ट्रपति सिको भ्रमण धेरै वर्षदेखि अपेक्षित थियो र पनि अहिलेमात्र सम्भव भएको छ । योभन्दा पहिले २३ वर्ष अघिमात्र चीनका राष्ट्रपतिको नेपाल भ्रमण सम्पन्न भएको थियो । राष्ट्रपतिहरुको भ्रमण आदान प्रदान नभए पनि नेपाल र चीनको सम्बन्धमा कहिल्यै पनि उतार चढाव आएको छैन । एउटा सार्वभौमसत्तासम्पन्न राष्ट्रलाई दिने सम्मान चीनले नेपाललाई दिइरहेको छ । नेपाल र चीनको भौगोलिक र राजनीतिक अन्तरले खासै असर पारेका छैन र नेपालको आन्तरिक मामिलामा अहस्तक्षेपकारी भूमिकामा चीन सदैव दृढ देखिन्छ ।

अहिलेलाई महामहिम राष्ट्रपति सि चिनफिङ भ्रमण सुखदायी रहोस्, हाम्रा दुई देशका बीचमा अझ सम्बन्ध हार्दिक र सहजपूर्ण बनोस्, हाम्रा समस्यारहित सम्बन्धहरु पछि पनि यस्तै रहून् । नेपाल बसाइ अत्यन्त सुखमय रहोस् र महान चिनियाँ जनतासँगको सम्बन्ध अझ मैत्रीपूर्ण बनिरहोस् । महामहिमलाई स्वागतम् , सु–स्वागतम् ।