सी आउँदा र जाँदा विमानस्थल बन्द, यी एयरलाइन्सका उडान हुँदैछन् प्रभावित


हरेकपल October 12, 2019

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ ।

भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना जारी गरि जनाएको छ। शनिबार आज अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्मका उडान प्रभावित हुने छन्।

शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् ।विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ ।

त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडान रोकिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ । राष्ट्रपति सी शनिबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेर आइतबार बिहान स्वदेश फर्कने तालिका छ ।