यस्तो छ सीको काठमाडाैंमा सवारी रुट


हरेकपल October 12, 2019

काठमाडाैं, २१ असाेज । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण अवधिमा आवतजावतमा सर्वसाधारणलाई कठिनाई हुने देखिएको छ। राष्ट्रपति सीसहितको टोली शनिबार विमानस्थलमा अवतरण गरेपछि तीनकुने, बानेश्वर, त्रिपुरेश्वर हुँदै सोल्टी होटल प्रस्थान गर्नेछ।

त्यहाँ केहीबेर आराम गरेपछि सी सोल्टीमोड, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै शीतलनिवास पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस अवधिमा सर्वसाधारणलाई आवतजावत गर्न समस्या हुनेछ। चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शनिबारै शीतलनिवासमा भेटवार्ता हुनेछ। तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनेछ।

सवारी आवागमनलाई लक्षित गर्दै सरकारले आइतबार भने सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सीको स्वागत र कार्यक्रमका लागि सबैखाले तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि ऐन, २०७० अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ।

चिनियाँ राष्ट्रपति सी र अन्य भिआइपी सवारी हुने क्षेत्रमा शुक्रबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘छिमेकी देशबाट अतिविशिष्ट पाहुना आउँदा विगतमा जुन किसिमको तयारी हुन्थ्यो, अहिले पनि त्यही भएको छ,’ प्रवक्ता सुवेदीले भने, ‘सर्वसाधारण मर्कामा नपर्ने गरी हामीले तयारी गरेका छौं।’