हत्या आरोपी आलम सांसद पदबाट निलम्वित


हरेकपल October 14, 2019

काठमाडौं, २७ असोज । हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बन भएका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो ।

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ । रौतहटको राजपुर फरहदवास्थित आफ्नै निवासमा बम बनाउँदै गर्दा भएको विस्फोटमा परि २ नेपाली र १९ भारतीय नागरिकको मृत्यु हुनुका साथै २ दर्जन बढी घाइते भएका थिए। बम बनाउँदै गरेको घरमा पनि विस्फोटबाट क्षति पुगेको थियो।

रौतहट क्षेत्र २ बाट निर्वाचित आलमलाई गौरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। विस्फोटमा घाइते भएकालाई आलमकै निर्देशनमा इँटा भट्टीमा हालेर मारेको आरोप पनि उनीमाथि लागेको छ। यो विस्फोटको मानवअधिकार आयोग, इन्सेकलगायतले अनुसन्धानसमेत गरेका थिए।