दक्षिण एशिया साहित्य सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्घाटन, सम्बन्ध सुधार र सहकार्यमा जोड


हरेकपल October 15, 2019

असोज २८ , काठमाडौँ । दक्षिण एशिया साहित्य सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताएका छन् । छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धले नयाँ चरणमा प्रवेश गरेको समेत बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सभ्यता, ज्ञान, खोज र संस्कृतिको जननी एशिया भएकाले यस सम्पन्नतालाई प्रवद्र्धन गर्दै आपसी सहकार्यबाट यी देशको आर्थिक समृद्धि वर्तमानको कार्यभार भएको पनि बताएका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको र राष्ट्रपति सीले नेपाल आउनुअघि भारतको भ्रमण गर्नुभएकाले एशियाका देशहरु कस्तो नयाँ चरणको सम्बन्धको विकास गरिरहेका छन् भन्ने सन्देश दिएको उल्लेख गरे । राष्ट्रपति सीले यही असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।

जारी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपालका लागि बङ्गलादेश र पाकिस्तानका राजदूत, संस्कृतिविद् सत्यमोहन जोशीलगायतले सम्मेलन सफलताको कामना गरे । । सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ ।

 सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिकस्थलको भ्रमण गराइनेछ ।