विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान


हरेकपल October 15, 2019

काठमाडौं, २८ असोज । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिका प्रस्थान गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषअन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुने कार्यक्रम छ । अर्थमन्त्री सचिवालयका अनुसार अर्थमन्त्री खतिवडाले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीसँग द्विपक्षीय छलफल पनि गर्नेछन् ।

अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे खतिवडाले विस्तृत छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री खतिवडा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुनेछन् । उनले नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीसँग पनि भेटघाट गर्नेछन् ।

सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षता समेत अर्थमन्त्री डा. खतिवडाले गर्नेछन् । भ्रमणका क्रममा खतिवडाले एशियाली विकास बैंकका उपाध्यक्षसँग समेत आपसी सहयोगका विषयमा छलफल गर्नेछन् ।

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव श्रीकृष्ण नेपालसमेत सहभागी छन् । अर्थमन्त्री खतिवडा कात्तिक ६ गते स्वदेश फर्किनेछन् ।