उपसभामुखको अडान : महरा गल्ती गर्ने, सजाय म किन बेहोर्ने ?


हरेकपल October 15, 2019

काठमाडौं, २८ असोज । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख कृष्णबहादुर महराको गल्तीको सजाय आफूले नबेहोर्ने बताएकी छिन् । महराको आफ्नै गल्तीको कारण सभामुख पद गएको बताउँदै उनले त्यसको भागीदार आफू नबन्ने बताएकी हुन् ।

सत्तारुढ नेकपाले तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिन लगाएर मन्त्री बनाउने आश्वासन दिएको चर्चा चलेका वेला उपसभाचमुखबाट यस्तो प्रतिक्रिया आएको हो । उनले नेकपाले राजीनामा गर्न लगाएमा उपसभामुख छाड्ने तर मन्त्रीसँग पद नसाट्ने अडान लिएकी छिन् ।

सातवटै प्रदेशमा महिलालाई उपसभामुख पदमा खुम्च्याएको गुनासो गर्दै उनले सङ्घीय संसदमा महिलालाई सभामुख बनाउनुपर्नेमा जोड दिएकी छिन् ।

यसबारे सल्लाह गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले आइतबार उपसभामुखसँग भेट गरेका थिए । भेटमा ओलीले तुम्बाहाम्फेलाई पार्टी एकतापूर्व र एकतापश्चात्को आन्तरिक समीकरण र वस्तुस्थितिका बारेमा अवगत गराएका थिए ।

अध्यक्ष ओलीले आफूलाई नचिढ्याउने बरु सभामुख बन्न सघाउने विश्वास तुम्बाहामफेले लिएकी छिन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि तुम्बाहाम्फेलाई नै सभामुख बनाउन जोड दिँदै आएका छन् ।