‘छन् गेडी सबै मेरी’ फागुन अन्तिमबाट छायांकनमा


हरेकपल October 16, 2019

काठमाडौं, असोज २९ । नेपाली सिने जगतमा सबैभन्दा शक्तिशाली र एकताबद्ध भई काम गर्ने समुह हो दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरे । चलचित्रमा यीनीहरुको टिमअप अहिलेसम्म ‘असफल’ भने भएको छैन ।

सिने जगतमा ‘६ एकान ६’ बाट सुरु भएको यीनीहरुको ४ जनाको सहकार्य हाल प्रदर्शनरत चलचित्र ‘छ माया छपक्कै’ सम्म पनि कायमै रहेको छ । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेको समुहले सबै चलचित्रले हलबाट पैसा मात्र नभई दर्शकको मन पनि बटुलेका छन् । यनीहरुले ‘छ’ नाम लक्की भएको अनुमान गरेका छन् । हुन पनि यीनीहरुको छ नाम रहेको हरेक फिल्मले सुपर डुपर हिट पनि भएको नै छ । यो टिम अहिले ‘छ माया छपक्कै’ को सक्सेस सेलिब्रेट गरिरहेका छन् ।

चलचित्र असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको छ । यस फिल्मलाई दर्शकले निकै नै मन पराएका छन् । फिल्मलाई समीक्षकले पनि राम्रो रेटिङ दिएका छन् । चलचित्रको लाइफटाइम कलेक्सन भने १२ देखि १५ करोडको आसपास हुने अनुमान गरिएको छ । नाफाको ५० प्रतिशत लिने सर्तमा दीपक दीपाको समुहले यो फिल्म गरेको हो । उक्त चलचित्रका निर्माता रोहित अधिकारी हुन् भने, यसमा दीपेन्द्र लामाको निर्देशन रहेको छ । यो चलचित्र राजनीति पृष्ठभूमिको आधारमा प्रेमको थालनी र कथा बनाइएको छ ।

यस टिमले हरेक वर्ष एउटा फिल्म निर्माण गर्ने गरेका छन् । त्यसैले पनि दिपक दिपाको अथवा यस टिमको नयाँ फिल्म के होला ? कुन होला भन्ने जिज्ञासा हरेक दर्शकलाई हुने गरेको छ । प्राप्त जानकारीनुसार दिपक दिपाको अर्को वर्ष आउने चलचित्र पनि ‘छ’ बाटै नै नामाकरण गरिएको छ । चलचित्रको नाम ‘छन् गेडी सबै मेरी’ ल्याउने प्राप्त जानकारी भएको छ । उक्त चलचित्रलाई निर्देशक सिमोस सुनुवारले निर्देशन गर्ने पक्का भएको छ ।

त्यस चलचित्रमा उनकै लगानी रहने समेत बताइएको छ । चलचित्रको नाफाको ६० प्रतिशत लिने सर्तमा दीपक दीपाको समुहले यो फिल्म गर्न लागेको बताइएको छ । प्राप्त जानकारी अनुसार चलचित्र फागुन अन्तिमबाट छायांकनमा जाने तयारीमा छ । चलचित्र अर्को वर्ष अथवा २०७७ सालको दशैंमा आउने समेत पक्का भएता पनि यसअघि नै दशैं विदा लक्षित पार्दै केही ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरेका कारण यस टिम अन्योलमा रहेका छन् ।