लुम्बिनीप्रति म्यान्माको सहयोग र सद्भाव रहिरहनेछः राष्ट्रपति भण्डारी


हरेकपल October 18, 2019

म्यान्मा, १ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गौतम बुद्धको जन्मभूमिबाट न्यानो माया र शुभकामना लिएर आएको बताउँदै बुद्धका सन्देशले मानिसको जीवन पद्धतिलाई नै मार्गनिर्देशन गरेको स्पष्ट गर्नुभयो ।

म्यान्माका राष्ट्रपति विन मिन्तले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार राजधानी नेपितस्थित प्रिन्सिडेन्सियल हाउसमा आयोजित राजकीय भोजमा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बौद्धदर्शनको उद्गमस्थल लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त(म्यान्मा)को योगदानको प्रशंसा गर्दै उहाँले लुम्बिनीप्रति म्यान्माको सहयोग र सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले दुई देशका विकासका आकाङ्क्षा र चुनौती समान रहेकाले दुई देशबीच सहयोग आदानप्रदान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यापार, पर्यटन, लगानी र संस्कृतिका क्षेत्रमा सहकार्य गरेमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै बिम्स्टेकमा अझ बढी सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले जलवायु परिवर्तनमा अनुकूलन प्राप्त गर्न दुवै देशले काम गर्नुपर्ने बताउँदै सन् २०२० अप्रिलमा नेपालमा हुने सगरमाथा संवादमा म्यान्माबाट उच्चस्तरीय सहभागिताको आशा व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यान्मालीको योगदानप्रति प्रशंसा गर्दै तिनको संरक्षण गरेकामा म्यान्मा सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

सो अवसरमा दुवै राष्ट्रपतिबीच उपहार आदानप्रदान गरिनाका साथै सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । दुवै राष्ट्रपतिले प्रदर्शनमा सहभागीलाई फूलको माला दिएर सम्मान गर्नुभएको थियो ।

रासस