राष्ट्रपति भण्डारीको भ्रमणबाट सम्बन्ध अझै माथि उठ्ने छः म्यान्माली राष्ट्रपति


हरेकपल October 18, 2019

म्यान्मा, १ कात्तिक । म्यान्माका राष्ट्रपति विन मिन्तले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको ऐतिहासिक म्यान्मा भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ माथि उठाउने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा बिहिबार राजधानी नेपितस्थित प्रिन्सिडेन्सियल हाउसमा आयोजित राजकीय भोजमा म्यान्माली राष्ट्रपतिले यस भ्रमणबाट आपसी विश्वास, समझदारी तथा धार्मिक सांस्कृतिक सामिप्यता झन् बढ्ने विश्वास व्यक्त गर्नुभयो । दुई देशबीचको निकट ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक समानता र आपसी समझदारीले दुई देशबीचको मित्रताको परम्परागत सम्बन्ध कायम राखिरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले आफूले सन् २०१८ को राजकीय भ्रमण र गौतम बुद्धको जन्मभूमि भ्रमण गरेको पनि स्मरण गर्नुभयो । आफूहरुको संयुक्त प्रयासले व्यापार, लगानी, पर्यटन, यातायात, उद्योग र संस्कृतिका क्षेत्रमा उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

क्षेत्रीय तथा बहुपक्षीय क्षेत्र जस्तै बिम्स्टेक, द एशिया कोअपरेशन डायलग, संयुक्त राष्ट्र सङ्घका क्षेत्रमा निकट समन्वय र सहयोग बढिरहेको बताउँदै उहाँले नेपालसँग क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाली मूलका बर्मेलीहरु स्थानीय समुदायसँग मिलेर बसेको तथा सामाजिक आर्थिक विकासमा योगदान गरिरहेको बताउनुभयो । उहाँले म्यान्माको बगानका प्राचीन मन्दिर र यङ्गोनको आकर्षक स्वेदागोन पेगोडाले नेपाली प्रतिनिधिमण्डललाई म्यान्मा र नेपालका लुम्बिनी जस्ता बौद्ध तीर्थस्थलहरुबीच सम्बन्ध गाँस्न नयाँ विचार उत्पन्न हुने विश्वास गर्नुभयो । नेपाल र म्यान्माबीचको सम्बन्धको ६० औँ वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष २०२०को सफलताको कामना पनि उहाँले गर्नुभयो ।

रासस