कार्तिक २, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा दक्ष व्यक्ति चयन गरिने बताएका छन् । यसैगरी उनले पदाधिकारीमा राजनीतिकरण गरी भागवण्डाका आधारमा नियुक्ति पनि नहुने बताएका छन् ।
नेपाल पब्लिक क्याम्पस संघको ११ औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै मन्त्री पोख्रेलले यस्तो धारणा राखेका हुन् ।
सरकारको लक्ष्यअनुसार विश्वविद्यालय सुधारको प्रक्रियामा सहयोग पुग्ने दक्ष नेतृत्वलाई पदाधिकारीमा चयन गरिने बताए ।
२०६२/६३ को आन्दोलनपछि विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा गर्ने चलन बसेको उल्लेख गर्दै उनले वर्तमान सरकारले भागवण्डाको संस्कृतिलाई अघि नबढाउने स्पष्ट पारे । उनले शिक्षालाई संविधानले निर्देश गरेको बाटोभन्दा बाहिर नलग्ने प्रतिवद्धतासमेत जनाए ।