आमसञ्चारका माध्यममा कस्तो भाषा प्रयोग गर्ने ?


हरेकपल October 19, 2019

-हरिविनोद अधिकारी-


(साथमा प्रसिद्ध भाषाविद् प्राध्यापक डाक्टर हेमाङ्ग राज अधिकारीसँगको फ्रिडम फोरमको कुराकानी समेत)

प्रजातान्त्रिक सरकारको काम व्यवस्थापन गर्ने हो राज्यको सहजताका साथ । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने हो संविधानले दिएको दायराभित्रै । अझ व्यवहारमा संविधानले दिएको दायरालाई पनि फराकिलो बनाउँदै लैजाने हो । तर हाम्रो देशमा आम सञ्चारको विकासक्रमलाई झिना मसिना कुराहरुले अल्झाउँछन् । अभिव्यक्ति स्वतन्त्रता भनेको पत्रिकामा वा अन्य आम सञ्चारका माध्यमबाट दिइने भनाइ र लेखाइ मात्र होइन, मानवीय प्रक्रियामा आउने मानवोचित व्यवहारमा स्वतन्त्रता हो । कुनै पनि अवरोध विना निर्वाधरुपमा गर्न पाउने अधिकार, नैसर्गिक अधिकार हो । सायद त्यसैले अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रुपमा विश्वभर स्वीकार गरिएको हो ।

भाषा , चित्र तथा हाउभाउ अभिव्यक्ति स्वतन्त्रताका माध्यमहरु हुन् । बाजा बजाएर, गीत गाएर, नाटक गरेर , सिनेमा देखाएर , भाषण गरेर, चित्र बनाएर वा मौन बसेर पनि अभिव्यक्ति स्वतन्त्रताको उपयोग र उपभोग गरिन्छ । सन् १९४८मा नै विश्वव्यापी मानवअधिकारको घोषणा गर्दा धारा १९ले त्यसको प्रत्याभूत गर्न आफ्ना सदस्य देशहरुलाई बाध्यहुनका लागि आह्वान गरेको थियो । संयुक्त राष्ट्रसंघको सदस्यता दिनु वा लिनु भनेको मानव अधिकारको पक्षमा त्यो घोषणापत्र मान्ने भन्ने हो । तर कतिपय देशहरुले त्यसलाई मानेका छैनन् ।

शक्ति राष्ट्रहरुमध्ये र धनी देशहरुमध्ये धेरैले त्यसलाई आफ्नो राज्यको आन्तरिक मामिलासँग जोडेर मानेका छैनन् र पनि राष्ट्रसंघ केही गर्न सक्दैन । त्यसको कारण होला , ती देशहरुसँग निषेधाधिकार वा भिटो छ, धनी छन् , आम्दानीका स्रोत सुक्ने डर हुन सक्छ । तर मानवीय अधिकारसँग जोडिएका मौहिक हकहरुको जिम्मा प्रजातान्त्रिक देशहरुले लिएका छन् । तर ती देशहरुले आम सञ्चारको भाषा कस्तो हुनुपर्छ भनेर किटानी गर्दैनन् । त्यहाँ राज्यका सबै तहमा विधिको शासन हुन्छ र सबै नागरिकहरु समान हुन्छन् भन्ने अभ्यास गरिएको हुन्छ ।

यी पृष्ठभूमिका कुरा किन आएका हुन् भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यता केही समयदेखि आम सञ्चारका माध्यमहरुमा बोलिन, लेखिने भाषाप्रति कटाक्ष गर्दै यिनले त आफ्ना बाउलाई समेत तिमी भन्छन्, तपाईँ भन्न नै जान्दैनन् भन्ने गुनासो पोख्न थाल्नु भएको छ । अहिले उहाँका हातमा दुई तिहाईको बहुमत भएको सँसद छ, यस्तो यस्तो भाषा प्रयोग गरे कानुको यो प्रावधानले कार्बाही हुन्छ भन्न र गर्न पनि सक्नुहुन्छ । जुनकुरोका प्रारम्भिक अभ्यासका रुपमा विद्युतीय कारोबारको कानुन पत्रकारहरुलाई पक्राउ गर्न र कार्बाही गर्नका लागि प्रयोग गरिँदै छ । विधिको शासनअनुसार विभिन्न प्रक्रियाद्वारा आम सञ्चारमाथि कार्बाही हुने प्रावधान छ । आखिर त्यहाँ व्यक्तिको स्वायत्तताले काम गरेको हुन्छ ।

नेपालको संविधानअनुसार अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने कसैलाई पनि अनुमानका भरमा कार्बाही गर्न पाइँदैन । लेखिएको, देखाइएको, भनिएको आधारमा त्यसले पारेको नकारात्मक असर हेरेर विधिवत् तहगतरुपमा कार्बाही गरिने अनेक उपायहरु होलान् ।

अहिलेको विषय भनेको आम सञ्चारका माध्यममा कस्तो भाषा प्रयुक्त हुन्छ ? या कस्तो भाषा प्रयोग गर्ने भन्ने हो । यसको मानक भनेको प्रचलित समाज र समाजले मानक बनाएको भाषालाई प्रचलनमा , सबैले बुझ्ने गरी र सबैलाई सम्मान हुनेगरी लेखिनु पर्ने हो, देखिनु पर्ने हो र कसैलाई अपमान नहुने गरी , नविझ्ज्ने गरी र कसैलाई विभेद नहुने गरी , विभेद नदेखिने गरी अभ्यासमा ल्याउनु पर्ने हो ।

गणतन्त्र नहुँदासम्म राजपरिवारलाई प्रयोग गर्ने भाषा र सामान्य जनतालाई प्रयोग गर्ने भाषाको प्रचलन नै बेग्लै थियो । गणतन्त्र आएपछिको अभ्यासले के कति पचाउन सक्ने भन्दा पनि कसरी आम नागरिकसरह सबैलाई एउटै मानक सम्बोधन र क्रियाको प्रचलन हुन थालेको हो । जसलाई पनि तिमी भन्ने शब्दको आधारमा सम्बोधन र क्रियाको प्रचलन आउन थालेको हो । सबैले त्यही अभ्यास गरेका पनि छैनन् किनभने त्यहाँ कसैमाथि कुने दबाब दिने कुरा पनि होइन । अनि प्रत्येक आम सञ्चारका माध्यमको आफ्नै शैली विकास गर्न थालेका छन् । यो पनि नयाँ अभ्यास हो । उपभोक्ता भनेको जनता हो, जसका वारेमा लेखिने, बोलिने र देखाइने हो , ऊ पनि कर्तासँग उपभोक्ता पनि हो । समाचारका श्रोतहरु भ्नेको सामान्यतया सरकार र सरकारमा बस्नेहरु नै हुन्छन् प्रत्यक्ष र परोक्ष । समाचार बन्ने र उपभोक्ताहरुलाई कस्तो मनपर्छ भन्नुभन्दा पनि कसरी समाचार , विचार र धारणा सहजताका साथ सम्प्रेषण हुन्छ र सबैले त्यसका अपमान बोध पनि गर्दैनन् , त्यसैमा आम सञ्चारका पात्रहरुले ध्यान दिने गर्छन् ।

भाषाको विकासक्रम हुँदै आजको दिनसम्म आएको हो । नेपाली भाषा पनि जीवन्त भाषा भएकाले विकासक्रमको बाटैमा छ र त्यो विकासक्रम अनन्त हुन्छ । कसलाई तपाईँ भन्ने, कसलाईँ तिमी भन्ने , कसलाई तँ भन्ने अनि कसलाई हजुर भन्ने भन्ने पनि एकप्रकारले समाज मनोविज्ञानले तय गरेको छ । उमेर,पद, प्रतिष्ठा, नाता र उत्तरदायित्व सबैले भाषामो सम्बोधन र क्रियालाई असर पारेका हुन्छन् । खासगरी २००७ सालले नयाँ बाटो भाषामा पनि देखाएको थियो ,त्यो भाषाको मानक स्वरुप अर्को पनि आएको छैन र आम सञ्चारलाई कस्तो भाषा उपयुक्त हुन्छ भनेर सिद्धान्तबाहेक अभ्यासमा पनि थिएन । गणतन्त्र आएपछि केही शब्दहरुको चयन अनिवार्य भएन अनि तिमी भन्ने शब्दले आम स्वरुप पाएकै हो । त्यो पनि स्वेच्छिक हो । पत्रकारितामा मानक भाषा बनाउने पनि पत्रकारले नै हो, त्यसको अभ्यास गर्ने पनि पत्रकारले नै र केलाई ठीक मान्ने या नमान्ने भन्ने पनि आफैँले स्वनियम गर्ने हो प्रजातान्त्रिक समाजमा । कसैले मलाई मान गर भन्दा बीरबले कसैलाई पण्डित हुने जुक्ती सिकाए जस्तै मात्र हुन्छ । पण्डित भन्न लगाउने अनि ती बालबालिकालाई लखेट्ने अनि बाल मनोविज्ञानले चिढ्याउन सधैँ पण्डित भन्नेछन् अनि सबैले पण्डित भन्नेछन् भनेजस्तै हुन्छ ।

त्यस्तो कर्म पनि गरौँ जसले गर्दा कसैले पनि तिमी भन्ने शब्द उच्चारण नगरोस् भन्ने एउटा कुरा हो तर तिमी भन्ने शब्द निच आदरार्थी होइन भन्ने भाषाविद्हरुको धारणा पाइन्छ । त्यसका लागि पत्रकारिता क्षेत्रका अभ्यासकर्ताहरुले मानक भाषा तयार गरेहुन्छ तर स्वतन्त्र अभिव्यक्तिका लागि कसैले कुनै कुुरामा बाध्य पार्नभने पाइँदैन । चित्त नबुझ्दा अपमान भयो भन्न पाइन्छ तर मलाई तपाईँ नै भन्नू भनेर तानासाही प्रवृत्तिमा आदेश नै दिन भने सकिँदैन,योचाहिँ भन्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले आफ्ना गुनासा बारम्बार आम सञ्चारमार्फत् नै पोखेकाले समाजमा अहिले यो विषयमा बहस सुरु भएको छ ।

हामी— वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल र यो समीक्षक मिलेर फ्रिडम फोरमको फ्रिडम चौतारी भन्ने पडकास्टको ४३औं भागका लागि वरिष्ठ भाषाविद् तथा शब्दकोष निर्माता प्राध्यापक डाक्टर हेमाङ्गराज अधिकारीसँग यसै विषयमा केन्द्रित रहेर छलफल गर्यौँ । छलफलको मुख्य विषय आम सञ्चारमा प्रयोग हुने भाषाका वारेमा थियो ।

सुनौँ त्यो पडकास्टको छलफल यो अङ्कमा ।