आज रविसप्तमीव्रत, महिमासहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक ३ गते


हरेकपल October 20, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ३ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको सप्तमी तिथि राति २।५८ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा रहेका छन् । आद्र्रा नक्षत्र दिवा ३।३८ बजेसम्म रहनेछ । यसैगरी आज शिव योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।६७ मा छ भने सूर्यास्त बेलुका ५।२९ बजे हुनेछ ।


चन्द्रमा आज मिथुन राशिमा छन् । आज रविसप्तमीव्रत परेको छ । आइतवार सप्तमी तिथि परेको दिनलाई रविसप्तमी भनिन्छ । सप्तमी तिथिका मालिक सूर्य हुन् । आइत सूर्यकै वार भएकाले सप्तमी तिथिका दिन सूर्य भगवान्को उपासना शुभ रहन्छ । सूर्यजन्य दोष निवारणका साथै सौर्य प्राप्तिका निम्ति पनि आज सूर्यको उपासना लाभदायी रहन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्