आज कागतिहार, यमपञ्चक आरम्भ, हेर्नुहोस् आजको दिन २०७६ कार्तिक ९ गते


हरेकपल October 26, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ९ गते शनिवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि दिवा २।८ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । उत्तराफाल्गुनी नक्षत्र बिहान ७।३१ बजेसम्म रहनेछ । यसैगरी आज वैधृति योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।११ मा छ भने सूर्यास्त बेलुका ५।२३ बजे हुनेछ ।


चन्द्रमा आज कन्या राशिमा छन् । आज यमपञ्चकको पहिलो दिन कागतिहार हो । आजबाट यमपञ्चकको आरम्भ भएको छ । यमदूतका रूपमा कागको आज विशेष पूजा हुने गर्दछ । आजबाट पाँचदिनसम्म तिहार अर्थात् यमपञ्चक रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्