कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको आयोगको निष्कर्ष


हरेकपल October 22, 2019

काठमाडौँ । मानव अधिकार आयोगले नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै घटनामा संलग्न प्रहरीलाई कारबाही सिफारिस गरेको छ । आयोगले आदेश दिने उच्च प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको आजको कान्तिपुरमा समाचार छ ।

प्रहरीबाट दाबी भएजस्तो दोहोरो भिडन्त वा आत्मरक्षाको स्थिति कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति तथा संकलित प्रमाणसमेतबाट पौडेललाई नियन्त्रणमा लिएर मारेको देखिएको आयोगले जनाएको छ । प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि ९ राउन्ड गोली हानेको आयोगले उल्लेख गरेको छ ।

आयोगका पदाधिकारीहरूको सोमबार बसेको बैठकले आफ्नो अनुसन्धान टोलीको स्थलगत छानबिन प्रतिवेदनका आधारमा घटनामा प्रत्यक्ष रूपमा संलग्न तथा कमान्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मि श्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको हो ।

आयोगका सचिव वेद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिका अनुसार प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का गर्दा त्रुटिपूर्ण तवरले कार्य गरेकाले सचेत गराउन सरकार र नेपाल प्रहरीलाई सिफारिस गरिएको छ । आयोगले प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारीहरू, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिमाथि समेत अनुसन्धान गरी कानुनी दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । पौडेलको शव परीक्षणक्रममा न्यूनतम प्रक्रियासमेत पूरा नगरेकामा जिल्ला अस्पताल सर्लाहीका तत्कालीन डा। वीरेन्द्रकुमार मण्डललाई सचेत गराउन आयोगले सिफारिस गरेको छ ।