भिसा ‘रिजेक्ट’पछि ‘क्लिक’ भएका नेपाली क्रिकेटका पारस


हरेकपल October 22, 2019

-आभाष बुढाथाेकी-

खेलकूद

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ(क्यान)माथि लगाएको निलम्बन फुकुवा गरेसँगै नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिएका छन् ।

उनले नेपाली क्रिकेटमा अब नयाँ कप्तानको आवश्यक्ता परेको र अब राजीनामापछि आफूलाई जिम्मेवारीको हिसाबले ‘हल्का’ महसुस गरेको बताउछन् । सन् २००९ मा राष्ट्रिय टोलिको नेतृत्व गर्न कप्तानको जिम्मेवारी पाएका पारसले १० वर्षको अबधिमा नेपाली क्रिकेटमा हलचल नै मच्चाए । उनको यो देश वर्षको कप्तानी यात्रा अविष्मरणीय रहने छ ।

२०४४ साल कात्तिक ७ गते काठमाडौंमा जन्मेका पारसको सानैबाट खेलकुदमा एकदमै रूची थियो । प्राय सबै खेल खेल्ने उनी पछि गएर राष्ट्रिय टिमको कप्तान बन्छु भनेर आफूले नसोचेको बताउछन् । तर क्रिकेट चाहिँ बिनोद दासको खेल बाट प्रभाबित भएर आफूलाई क्रिकेट खेल्न मन लागेको बताउछन् । उनले ११ र १२ विज्ञान विषय लिएर पढेका थिए ।

उनको चाहना क्रिकेट खेल्ने होईन बरू आर्किटेक्ट बन्ने थियो । उनी पढ्नको लागी अष्ट्रेलिया जान चाहान्थे तर अष्ट्रेलियाको भिषा नलागेकोले गर्दा उनले क्रिकेटमा चासो देखाउन थाले र आज नेपालको न.१ कप्तान, न.१ खेलाडी बन्न सफल भएका छन् । सायद त्यतिबेला भिषा नआउनु नि संयोग नै रहेछ । टिमलाइ एक असल कप्तान र देशलाई एक मिहेनती खेलाडिको आवश्यक परेको बेला काहाँ लाग्छ र भिषा ! आज नेपाली क्रिकेटलाई यहाँ सम्म पुर्याउन कप्तान र खेलाडिको रूपमा ठूलो योगदान रहेको छ उनको ।

पारस खड्काले पहिलो अन्तराष्ट्रिय खेल अण्डर-१५ एसिया कप यूएईमा सन् २००२ डिसेम्बरमा खेलेका थिए । सन् २००४ मा उनले राष्ट्रिय टोलिबाट मलेसिया विरुद्धको खेलमा डेब्यू गरेका थिए भने २००९ नोभेम्बरमा एसीसी ट्वान्टी-२० एलिट कपमा मलेसियाविरूद्धको खेलमा कप्तानीको जिम्मेवारी पाएका थिए । उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम बलर हुन् ।

आईसीसीले जारी गरेको टि-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा अलराउन्डर तर्फ उनी २५औं स्थानमा छन् भने ब्याटिङतर्फ ६६ औं स्थानमा रहेका छन् । पारस खडकाले दुई पटक वर्ष खेलाडिको उपाधि हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्यक वर्ष प्रदान गर्ने उक्त उपाधि उनले वि.स.२०६६ र २०६९ मा पाएका थिए ।

कप्तान पारस खड्का नेपालका एक मात्र खेलाडि हुन जसले एक दिवसीय क्रिकेट र टि-ट्वान्टी दुवै खेलमा शतक प्रहार गरे । उनले २८ जनवरी २०१९ मा यूएई विरूद्धको एक दिवसीय खेलमा शतक प्रहार गरेका थिए भने २८ सेप्टेम्बर २०१९मा सिङ्गापुर विरूद्धको टि-ट्वान्टी खेलमा समेत शतक प्रहार गरेका थिए ।

पारसको कप्तानीका मुख्य उपलब्धिहरू:

सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि,

सन् २०११ एसीसी टि-ट्वान्टी कपमा सेमिफाइनल,

सन् २०१२ विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि,

सन् २०१२ टि-ट्वान्टी विश्वकप छनोटमा सातौं,

सन् २०१३ विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि,

सन् २०१३ एसीसी टि-ट्वान्टी फाईनल,

सन् २०१३ विश्वकप छनोटमा तेस्रो भएपछि विश्वकपमा ऐतिहासिक छनोट,

सन् २०१४ टि-ट्वान्टी विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाई हराए पनि बंगलादेशसँग पराजित भएपछि समूह चरणबाटै बाहिर,

सन् २०१४ एकदिवसीय विश्वकप छनोटमा नवौं हुदै डिभिजन २ बाट रेलिगेसन,

सन् २०१५ देखी २०१७ सम्म नेपालले आईसीसी विश्व क्रिकेट लिग खेलेको,

सन् २०१८ मार्चमा भएको आईसीसी एक दिवसिय विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहेपछि पहिलो पटक वान डे अन्तर्राष्ट्रिय(ओडीआई) मान्यता प्राप्त गरेको,

नेपालले पहिलो ओडिआई सन् २०१८ अगष्ट १ मा नेदरल्याण्डसँग खेलेको,

सन् २०१९ टि-ट्वान्टी विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित हुँदै बाहिर ।