सरकारका कारण जनतामा वितृष्णा पैदा, गणतन्त्र नै गुम्ने खतराः अध्यक्ष केसी


हरेकपल October 22, 2019

काठमाडौं, ५ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे । उनले भने– ‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने हामीमाथि डर छ । सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ । २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ ।’

साक्षात्कारमा बोल्दै उनले भने, ‘हामीलाई नेपालमा संविधान सभाको चुनावमात्रै गराउन ६५ वर्ष लाग्यो । जनप्रतिनिधिबाट संविधान बनाउनुपर्छ भन्ने मागअनुसार संविधान बनाउनको लागि दुईपटक संविधानसभाको चुनाव भयो । देशमा गणतन्त्र स्थापना भयो । नेपाली जनतालाई भन्ने गरियो, संविधान बनेपछि धेरै समस्या समाधान हुन्छ, चुनाव भएपछि धेरै समस्या समधान हुन्छ । र, संघीयता आएपछि झन धेरै समस्या समाधान हुन्छन् भन्ने कुरा गरियो । गणतन्त्रपनि आयो, संघीयता पनि ल्याईयो । हामीलाई एउटा नेपालले भएन, सात वटा नेपाल बनायौं । ८८५ सांसद बनाउन सफल भयौं । ७५३ सरकार बनायौं । गणतन्त्र स्थापना भयो राम्रै कुरा भयो ।’

मुलुकमा यतिवेला दुई तिहाई बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको उनको गुनासो छ । ‘तत्कालिन नेकपा एमलो र नेकपा माओवादी केन्द्रबीच एकता भयो । नेकपाले दुई तिहाई मत ल्यायो । राम्रै कुरा भयो । अहिले दुई तिहाई बहुमतको सरकार गठन भएको छ । यत्ति हुँदाहुँदैपनि नेपाली जनताले अहिलेपनि सुशासन पाएनन् । पहिले दशैं आयो । अहिले तिहार आईरहेको छ, गर्नु नगर्नु गरेर अकुत सम्पत्ति कमाउनेको लागि दशैं र तिहार आयो । दैनिक दुई हजारको दरले नेपाली युवाहरु विदेश गैरहेका छन् । अहिलेपनि एयरपोर्ट जाने हो भने खुटटा हाल्ने ठाउँ छैन् ।’

उनले सत्तामा बस्नेहरुले सुशासन कायम गरेको, भ्रष्टाचार घटाएको, सार्वभौमसत्ताको रक्षा गरेको भनेर भन्नु त नौलो कुरा नभएको चित्रण गरे । उनले थपे,‘तर, यथार्थमा जनताको समस्या जटिल छ । यति ठूलो संघीय प्रणाली, जसको लागि नेपालको सामथ्र्य थिएन । यो मुलुकमा संघीयता आएपछि जातीय समस्या समाधान हुन्छ । भाषिक समाधान हुन्छ भनियो । वास्तवमा अहिले समाधान भएको छैन् ।’

आफ्नो पार्टीले सबैसँग मिलेर अघि बढ्ने नीति लिएको पनि उनले सनुाए । उनले भने,‘संविधान जारी गर्ने बेलामा पनि हाम्रो पार्टीले संघीयताको बारेमा मतभेद राख्यो । अहिले नेपाली जनताको मुखमा संघीयता धान्न सकिँदैन् भन्ने आवाज छ । संघीयता र गणतान्त्रिक प्रणाली आएतापनि राजनीति गर्ने मान्छेको प्रवृत्ति बदलिएको छैन् । लुट, भ्रष्टाचार, ठेकेदारी प्रथा कायमै छन् । यी सबैको भण्डाफोर गर्नको लागि हाम्रो पार्टीले देशव्यापी कार्यक्रम बनाएको छ ।’ उनले ७ वटै प्रदेशमा संघर्षका कार्यक्रमहरु लिएर पार्टी जाने पनि जानकारी दिए ।

अराजकता, भ्रष्टाचार (वर्षौदेखि भएका जनप्रतिनिधिले गरेको जघन्य अपराध) अहिले देखिन थालेको उनको भनाई छ । उनले भने,‘उनीहरुकै काण्ड र कर्तुत बाहिर आईरहेका छन् । यो सरकारले ठूला–ठूला भ्रष्टाचारीलाई कारबाही गर्न नसकेपनि जनप्रतिनिधिको कर्तुत मिडियामा आईरहेका छन् । यसखालका मान्छेलाई कारबाही गर्नुपर्छ । अरु कुरा भ्रष्टाचारको विरुद्धमा सरकारले कारवाही गरेको छ । तर, सानालाई मात्रै । ठूला–ठूला भ्रष्टाचार र अनियमितताका काण्डा ललिता निवास, वाईडबडीका दोषीलाई कारबाही गरेको छैन् ।

अध्यक्ष केसीले आफूहरुबीच मतभेद जे भएपनि गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले भने,‘उपलब्धि गुम्न दिनुहुँदैन् । तल अधिकार दिनु ठीक छ । प्रदेशको कुनै औचित्य छैन् । नेपाली जनताले प्रजातान्त्रिक विकेन्द्रिकरण चाहेको हो । नेपालको भौगोलिक बनावटअनुसार पनि एकात्मक प्रणाली नै उचित छ । ठुलो संयन्त्र पाल्दाखेरि अहिले नेपाली जनताले थाहा पाए । हिजो हामीले भनेको कुरा ख्यालठट्टाजस्तो लाग्दथ्यो । अहिले यो कुरा ठीक रहेछ भन्ने कुरा साधारण मकै पोलेर बेच्नेले पनि थाहा पाए ।’

जनप्रतिनिधिहरुले जनतालाई सेवासुविधा दिने कुरामाभन्दापनि आफ्नो सेवासुविधा बढाउनेतर्फमात्रै सोचेको पनि उनको आरोप छ । उनले भने,‘जनताको ढाट सेक्नेगरि कर असुल्ने । स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधिले आफ्नो सेवा र सुविधा मात्रै हेरे । त्यही भएर अहिले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको छ। कतै यो निराशा र वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथिनै एउटा खतरा आउने हो कि भन्ने डर छ ।’ उनले सरकारले जनतालाई सुशासन दिनुपर्ने आग्रह गरे । उनले भने,‘जनताको मन जितेरमात्रै प्रणाली बलियो हुन्छ । सत्ता कब्जा गरेर मात्रै केही हुँदैन् ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन् । उनले भने,‘बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’

उनले हरेक पार्टी भित्र विधि र राजनीतिको विषयमा आ–आफ्नो मूल्य र मान्यता रहने बताउँदै थपे,‘पार्टीभित्रको आधिकारिक लाईन छ । हामी त्यहीअनुसार चलिरहन्छौं । को प्रधानमन्त्री बन्छ ? को अध्यक्ष बन्छ ? भन्ने कुरा विधिसम्वत हुन्छ । यी विषय त प्रक्रियाअनुसार चलिरहन्छन् ।’ उनले अहिले देशको राजनीतकि एजेण्डा भनेको विकास र समृद्धिको एजेण्डा नै भएको चित्रण गरे ।
रायमाझीले थपे,‘यतिवेला दुई तिहाई बहुमतको सरकार छ । विकास र समृद्धिको एक सूत्रीय एजेण्डा छ । विरोध र समर्थन छन् । अहिले भनेको पूरानो एजेण्डाको निरन्तरता होईन ।

कतिपयले सरकार पनि पूरानोको निरन्तरता बुझेका छन् । तर, यो होईन । हामी नयाँ व्यवस्था, नयाँ संविधानमा छौं । विकास र समृद्धको एजेण्डामा छौं । संविधान कार्यान्वयनको एजेण्डामा अघि बढेका छौं । सर्यौं कानुन बनाएका छौं । विकास र समृद्धिका जग हालेका छौं । यद्धपी जनताले चाहेजस्तो खासगरी अपेक्षाअनुसार अझै काम भएका छैनन् । सरकारले परीणाम दिन सकेको छैन् । केही ढिलासुस्ती भएको हो । तर, जग हाल्नको लागि कानुन बनाउनको लागि हामीले समय लाग्यो । अब विकास र समृद्धि देखिन्छ ।’

उनले छिट्टै तिव्र रुपमा परीणाम आउन लागेको पनि सुनाए । उनले भने,‘संघीय सरकारबाट ठूला आयोजनाहरु प्रदेशबाट मझौला र स्थानीय सरकारबाट साना प्रकारका आयोजनाहरु धमाधम अघि बढिरहेका छन् । तीनै तहका सरकारबाट ठूला, मझौला र साना आयोजनवाहरु सञ्चालन गरिरहेका छौं । पूर्वाधार विकासका आयोजनाहरु जोडदा र विकासका परीणाम निकाल्दा आगामी दिनहरु र वर्षहरु उथुलपुथलका वर्षहरु हुनेछन् ।’

उनले राष्ट्रिय जनमोर्चाले भनेजस्तो संघीयतानै बेठीक हो भन्ने कुरामा आफूहरु सहमत हुन नसक्ने जिकिर गरे । उनले भने,‘संघीयता भनेको त जनताले स्विकार गरेको कुरा हो । संविधानसभाबाट ९५ प्रतिशतले अनुमोदन गरेको एजेण्डा हो । यो कुनै जबरजस्ती ल्याईैएको एजेण्डा होईन् ।’ रायमाझीले भ्रष्टाचार र व्यभिचार देखापरेको सुनाए ।उनले भने,‘भ्रष्टाचार र व्यभिचार सतहमा आएका छन् । अब संघीय गणतन्त्र आईसकेपछि चेतना आईसक्यो । पूराना घट्नालाई चिहानबाट, तलबाट ल्याईएका छन् ।गलत गर्ने जो कसैलाई पनि राज्यले छोड्दैन् । घट्नाबाट कोही पनि बच्नेवाला छैन् । यो बर्वाद होईन, ठीक भयो । हिजोको सरकारले घटना बाहिर ल्याउन चाहेको थिएन । तर, यो सरकारले ल्यायो ।’

उनले वर्तमान सरकाले पनि यदि नराम्रो काम गरे उसको आलोचना गर्नुपर्ने धारणा राखे । उनले भने,‘ कारबाही गर्ने सन्दर्भमा जनताबाट कुरा उठ्न्पर्छ । गलत गर्नेहरु कानूनको दायरामा आउनुपर्छ । जोसुकै होस् । नेकपाका मान्छेले गल्ती गरे पनि उनीहरुपनि कारबाहीको भागिदार हुनुपर्छ । निश्पक्ष छानबिन हुनुपर्छ । कानुनको नजरमा सबै बराबर हो । कोही मान्छे थुनियो भने सडकबाटै फैसला गर्ने काम गर्नुहुँदैन् ।’

फरक प्रसँगमा उनले सभामुखमा आफ्नो पार्टीको दाबीबारे पार्टीले छलफल गरेर टुँगो लगाउने पनि विश्वास दिलाए । उनले भने,‘सभामुख र उपसभामुखबारे सरकार र प्रतिपक्षबीच छलफल हुन्छ । सभामुख दिने वा उपसभामुख के दिने ? छलफल गरेर बसेर टुँगो लगाउने हो ।’ उनले संविधान कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । सभामुखको लागि आफ्नो व्यक्तिगत रुपमा कुनै चाहना नरहेको र कसैले आफ्नो स्वार्थअनुसार नाम चर्चामा ल्याईदिएको पनि रायमाझीको टिप्पणी छ ।

उनले शान्ति प्रक्रिया अधुरो काम पूरा गर्नको लागि आफूहरु गम्भिर रहेको स्पष्ट पारे । उनले भने,‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगलाई पूर्णता दिनुपर्छ । द्धन्द्धका घाउ कोट्याउनेतर्फ लाग्नुहुँदैन् । हामी अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा एक पत्रकारले नेताहरु त डकैत भए नि भन्ने शब्द प्रयोग गर्दा रायमाझीले असन्तुष्टी पोखे । उनले भने,‘डकैती भन्ने शब्द नबोल्नुहोस् । अधिकार आएको छ भन्दैमा जे मन लाग्यो त्यही बोल्ने, अलिक शिष्ट रुपमा शब्द प्रयोग गर्नुहोस् । अराजक हुनुलाई अधिकार आएको होईन् । गलत शब्द, अप्रिय शब्द बोल्नको लागि स्वतन्त्रता आएको होईन । रायमाझी डकैती गर्न आएको होईन । यो सरकार पनि जनताको अत्यधिक बहुमतको जनमत लिएर आएको हो ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको टिप्पणी गरे । उनले भने,‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा चौतर्फी राम्रो देखिने हुन्छ । सारा कुरा राम्रो देखिने भन्ने हुन्छ । यदि त्यो साँचो भैदिएको भए पुरै नेपाल सुनैसुनको र सारा नेपाली समद्ध हुन्थे ।’ उनले यतिवेला जनता अत्यन्तै ज्यादा निराश रहेको बताए । उनले भने,‘दुई तिहाई मतका साथ जनताले नेकपालाई सरकारमा पुर्याए । निर्वाचन भएको २२ महिना भैसक्यो । सरकार बनेको २० महिना भैसक्यो । यो बीचको मुल्यांकन गर्ने हो भने सरकार ठीक ढंगले अघि बढेको छैन् ।’

मुलुकमा यतिवेला सुशासनको अवस्था पनि नभएको लेखकको टिप्पणी छ । उनले थपे,‘जनतालाई करको बोझमा राखिएको छ । मानिस आक्रान्त छन् । स्थिति के छ भने ? घरबाट तरकारी किन्न गएको मान्छे महँगी देखेर बजारबाट रित्तै झोला लिएर घर फर्केको छ । संविधान कार्यान्वयन गर्न सरकार उदासिन छ । आज संविधानअनुरुप अधिकारको वितरण भएको छैन् । यो मैले भनेको होईन, सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भनाई हो ।’

मुख्यमन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारले कानून बनाउन नसकेको र केन्द्र सरकारले संविधान र संघीयताको भावनाअनुरुप अधिकार प्रत्यायोजन गर्न नसकेको आरोप लगाईरहेको पनि नेता लेखकले उल्लेख गरे । उनले भने,‘जनताबाट असुल गरेको कर, भ्रष्टाचारमा जान्छ । स्थानीय तहमा हेर्ने हो भने चिनेजानेको भरमा कथित उपभोक्ता समितिलाई पैसा दिने र विकासको काम नभएर दुरुपयोग हुने गरेको छ। सुदुरपश्चिममै एक ठाउँमा बाढी नियन्त्रणको लागि लाखको बजेट गयो, तर त्यो नामको खोला नै छैन् । सरकार गैरजिम्मेवार भएको छ । संघीय संसदमा प्रस्तुत गर्ने विद्येयकहरु विवादित भएका छन् । सरकारका निर्णयहरु विवादित बनेका छन् । सरकार दुई तिहाईको दम्भमा छ । अपराध बढेको छ । भ्रष्टाचार बढेको छ । सरकार असफल भएको छ ।’

उनले सरकारप्रति सर्वत्र जनतामा निराशा फैलिएको बताउँदै यसको परीणाम घातक हुने खतरा औंल्याए । उनले भने,‘सरकार त असफल हुन्छ, भयो भयो । यो व्यवस्थाप्रति मानिसको विश्वास टुट्ने खतरा हुन्छ । संविधानप्रतिको विश्वास टुट्ने खतरा हुन्छ । यो सडकप्रति जनताको विश्वास छैन र निराशा बढेको कुरा सडकमा हिँड्दा थाहा हुन्छ । अहिले जुन ढंगको कुशासनको स्थिति देखिएको छ, विधिको शासनको विरुद्ध गतिविधि देखिएका छन् । सरकार अत्यधिक ज्यादा दम्भपूर्ण ढंगले अघि बढ्न खोजेको स्थिति छ । हाम्रो यो व्यवस्थाप्रति घातक नहोस भन्ने चिन्ता हो ।’

त्यस्तै, उनले संक्रमणकालिन न्याय पनि चाँडै टुँगो लगाउनुपर्ने बताए । उनले भने,‘विस्तृत शान्ति सम्झौता अनुसार अघि बढ्यौं । शान्ति प्रक्रिया, अन्तरिम संविधान र अहिलेको नयाँ संधिवान कांग्रेसको नेतृत्वमा भएको हो । मलाई गर्व लाग्छ । अब संक्रमणकालिन न्यायलाई चाँडो अघि बढाउनुपर्छ । कानून संशोधन गरेर निश्कर्षमा पुर्याउनुपर्छ ।’

नेता लेखकले सभामुख र उपसभामुखबारे वर्तमान सरकारले पहिले नै संविधानको बर्खिलाप काम गरेको आरोप लगाए । उनले भने,‘यसबारेमा संविधानमै विशिष्ट व्यवस्था गरेको छ । संसद भनेको राजनीतिक थलो हो । सन्तुलित रुपमा अघि बढाउनको लागि फरक–फरक राजनीतकि दलका मानिसहरु सभामुख र उपसभामुख हुनुपर्छ भनिएको छ । तर, त्यसो गरिएन । हामीले त संविधानअनुकुल जाऔं भनेकै हो । राजनीतिलाई राजनीतिक रुपमै अगाडि बढाउनुपर्छ । अहिले सभामुखको पद खाली भएको छ। उपसाभमुख हुनुहुन्छ । यदि संविधानको भावनालाई पक्रने हो भने । फरक दल र फरक लिङको सभामुख र उपसभामुख हुनुपर्छ ।’

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने धारणा राखे । उनले भने,‘संविधान संशोधन गर्नुपर्छ । राज्यको पूनसंरचना हुँदा तीन तहको सरकार बनेको छ । तीन तहको चुनाव भएको छ। यो उपलब्धिलाई रक्षा गर्न कानून, व्यवस्था र जनशिक्तको अभाव रहन्छ । संघीयतामाथि जसरी प्रहार भैरहेको छ, गणतन्त्रमाथि भएको प्रहार छ । यो हाम्रो लागि चिन्ताको विषय हो । राजपा भएको उपलबिधलाई रक्षा गर्नुपर्छ भन्ने पक्षमा छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नै सर्वदलीय बैठकमा गण्तान्त्रमाथि खतरा छ भनेको पनि उनले उल्लेख गरे । उनले भने,‘उहाँले बोलाउनुभएको सर्वदलीय बैठकमा यस्तो कुरा गर्नुभयो । यो चिन्ताजनक कुरा हो । सबै दल मिलेर उपलबिध रक्षा गर्नुपर्छ र संविधान संशोधनको मुद्दा सबैले स्विकार गरेको विषय हो । राजनीतकि मुद्दाको सम्बोधन हुनुपर्छ । शान्ति र समृद्धिको लागि पनि यसले राम्रै गर्छ । द्धन्द्धको अवेशष रहँदा संविधान कार्यान्यवनमा समस्या हुन्छ । यो संविधानलाई लामो समयसम्म लैजानकोलागि हामीले उठाएका मुद्दालाई समबोधन गर्नुपर्छ । सहमतिको संविधान बनाउनुर्छ भनेर हामीले जारी गर्ने बेलामा नै भनेको थियौं । सरकारले विगतका सहमति र सम्झौता तोड्ने काम गरेको छ ।’

उनले मुलुकमा धेरै लामो द्धन्द्ध भएकोले अब पनि द्वन्द्व मुलुकले खेप्न नसक्ने बताए । उनले भने,‘देशले सुशासन र शान्ति खोजेको हो । अहिले दुई तिहाईको सरकार छ, तर यसले राजनीतिक स्थिरता दिन सकेको छैन् । सुशासन हुन सकेको छैन् । देश आजपनि वेदना र पीडाबाट छट्पटाईरहेको छ । यो सरकार असफलतातर्फ छ । सरकारको कामबाट जनता असन्तुष्ट छन् । वर्तमान सरकार आफैं द्वन्द्वमा फसेको छ । आफैंभित्रको नेतृत्वको लुछाचुँडीले गर्नुपर्ने काम भएका छैनन् । नेपाल देशको सार्वभौमको रक्षा गर्न सबै मिलेर अघि बढ्नुपर्छ ।’

पछिल्लो समय मुलुकमा अनुशासनको कमी भएको र जनताले कानूनी राज्यको अनुभुति गर्न नसकेको पनि यादवको टिप्पणी छ । उनले भने,‘यसको मुख्य कारण नै हाम्रो निर्वाचन प्रणाली नै विकृति हो । यो निर्वाचन प्रणाली नै भ्रष्टाचार र अनियमितताको जरो हो । पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ जानुपर्छ । चुनाव धेरै खर्चिलो भएको छ । सुधार गर्नुपर्छ ।’ उनले मुलुक रेमिट्यान्सबाट चलिरहेको बताए । उनले भने,‘हाम्रो देश आयातमुखी छ । आत्मनिर्भर बनाउनको लागि सरकारसँग ठोस योजना छैन् । देशलाई कृषिमा आधनुनिकरण र व्यवसायीकरण गर्नुपर्छ । सरकारले यसतर्फ ध्यान दिएको छैन् । हिजो र आज पनि कृषिमा बजेट उतिकै छ । सरकार असफल भएको छ । सरकार र प्रतिपक्षीबीच समन्वय गर्नुपर्छ ।’

यादवले सर्लाहीमा कुमार पौडेलको हत्याबारे राष्ट्रिय मानव अधिकार आयोगले गैरन्यायिक हत्या गरेको निश्कर्ष निकालेको सुनाउँयो यो हत्या प्रकरणमा संलग्न दोषी जो कोही भएपनि कानुनी कारबाही गर्नुपर्ने माग गरे । त्यस्तै, उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । उनले भने,‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने हो भने जनताले यथार्थ थाहा पाउने थिए ।’