समाजवादी–राजपा एकता अन्तिम चरणमा : राजेन्द्र महतो


हरेकपल October 23, 2019

जनकपुरधाम, ६ कात्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको राजपाका एक प्रमुख नेताले खुलासा गरेका छन् ।

राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले एकताको काम सकारात्मक ढंगले अघि बढिरहेको दाबी गरेका हुन् ।

जनकपुरमा बुधबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महतोले दुवै पार्टीको नाम समायोजन हुने गरी पार्टीको नाम, छाप र भ्रातृसंगठनलगायत विषयमा सहमति भइसकेको दाबी गरेका हुन् ।

दुई पार्टी एकतापछि पार्टी अध्यक्षको जिम्मेवारी महन्थ ठाकुरले पाउने उनको भनाइ छ । छलफलमा समाजवादी पार्टी सरकारबाट बाहिरिने विषयमा पनि प्रमुखताका साथ कुरा उठेको छ । यी विषयमा समाजवादी पार्टी पनि सकारात्मक देखिएको उनको दाबी छ ।

देशमा अहिले तेस्रो शक्तिको आवश्यक्ता रहेको औँल्याउँदै उनले मधेसका सबै पार्टी र संघ–संगठनलाई एकजुट गराउनुपर्ने बताए ।