कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


हरेकपल October 24, 2019

काठमाडौँ, ७ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने कांग्रेस सहमहामन्त्री डा‍. प्रकाशशरण महतले जानकारी दिनुभयाे ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदै छ। तिहारअगाडि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने गरी उम्मेदबार छनौटको शक्तिशाली समिति गठन गर्ने कांग्रेसको तयारी छ।

केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएकाले कांग्रेसमा उम्मेदबार छनौट गर्न सकस भएको छ। प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ।

धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ। यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ। आजकाे बैठकमा नेविसंघ लगायत भ्रातृ स‌ंस्थाहरुकाे विषयमा पनि छलफल हुने बताइएकाे छ।