दुई तिहाइको बोझ थेक्नसक्ने ताकत सरकारसँग छैनः डा. महत


हरेकपल October 24, 2019

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले केपी ओली नेतृत्वको सरकार चरम भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र. नं. १ को आयोजनामा भएको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले यस्तो बताएका हुन् ।

कम्युनिष्टहरुले जनतालाई ‘सुखी नेपाली समृद्ध नेपाल’को झुट्टा नारा भजाएर सत्ताको सिढि चढेको दाबी गरे । उनले सरकारलाई चुनावमा जनतासँग गरेको एउटा मात्र बाचा पुरा गरेर देखाउन चुनौती दिए । अर्को प्रशंगमा उनले भने, ‘कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता फकाउन सिपालु छन्, जनताले भोट उसैलाई हाल्छन् । तर, नेपाली कांग्रेस आफुले गरेको कामको प्रचार समेत गर्न सक्दैन, पार्टी हार्नुको मुख्य कारण पनि यहि हो ।’

मुलुक विकासका लागि अहिलेसम्म जति अवधारणाहरु बनेका छन्, त्यो सबै कांग्रेसको अवधारणा भएको उनको दावी थियो । ‘दुई तिहाइको सरकारले कांग्रेसले कोरेको विकासको रेखाङ्कनको स्तरोन्नति गर्नु त कहाँ हो कहाँ, उल्टै विकासको नाममा ब्रम्हलुट मच्चाइरहेको छ’ उनले भने । डा. महतले कम्युनिष्ट सरकारको यस्ता कु–कार्यहरुको खुलेर बस्तीबस्तीबाट विरोध गर्न कार्यकर्तालाई सुझाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतले कम्युनिष्टहरु दुई तिहाइको बोझ थेक्न नसकेर गलिरहेको जिकिर गरे । मुलुक निर्माणका लागि दुई तिहाइको मत दिएर सत्तामा पुर्याएका कम्युनिष्टहरु लुच्छाचुडिमा लागेको दावी गरे । उनले भने, ‘मुलुक निर्माणका लागि कांग्रेसको विकल्पमा अन्य कुनै पनि पार्टी छैन ।’ कम्युनिष्ट सरकारको रबैयाका कारण अर्को निर्वाचनमा सिन्धुपाल्चोक मात्र नभएर देशमा कांग्रेसको बहुमत आउनेमा कुनै शंका नरहेको उनले बताए ।