काठमाडौं । मंसिर १४ गतेको उप–निर्वाचन नजिकिएसंगै उक्त क्षेत्रहरुमा चुनावी सरगर्मी बढ्दै गएको छ । आगामी उप–निर्वाचनमा सत्तारुढ दल नेकपा र नेपाली कांग्रेसबीचमा नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिस्पर्धीदलहरु पनि यतिखेर उम्मेद्वार छान्नेक्रममा रहेका छन् भने, टिकटका लागि केन्द्रीय नेताहरु कहाँ जिल्ला नेताहरुको दौडधुप सूरु भएको छ । मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–१ र प्रदेश सभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
नेकपामा सकस
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कात्तिक १० गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । तर, अहिलेसम्म एउटै जिल्ला तथा प्रदेशले पनि उम्मेदवार सिफारिस गर्न सकेको छैन । उम्मेदवार सिफारिसका लागि सचिवालयले दिएको समयसीमा सकिन अब ३ दिनमात्र बाँकी छ ।
गत असोज २९ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला तथा प्रदेश कमिटीहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि सम्बन्धित प्रदेश र जिल्ला कमिटीलाई तीन–तीन जनाको नाम केन्द्रमा सिफारिस गर्न निर्देशन दिएको थियो । नेकपाले स्थानीय तहका उम्मेदवार छनोट गर्न भने प्रदेश कमिटीलाई नै अधिकार दिएको छ ।
कांग्रेस जित्नैपर्ने दवावमा
यता नेपाली कांग्रेसले पनि उम्मेद्वार छनौटलाई टुंगो लगाउन सकेको छैन । सरकार असफल भइरहेका बेला जित्नैपर्ने दवावमा कांग्रेस छ । तर, पार्टीमा आकांक्षीहरु धेरै भएपछि उम्मेदवार छनौटमा ढिलाई हुने कांग्रेस सह-महामन्त्री डा.प्रकाशशरण महतले हरेकपललाई बताए ।
नेपाली कांग्रेसले आगामी उप–निर्वाचनको सन्दर्भमा रणनीति बनाउनका लागि बिहिबार केन्द्रीय समितिको बैठक समेत डाकेको छ । बिहिबारको बैठकबाट पनि उप–निवार्चनका सन्दर्भमा कांग्रेस कसरी चुनावी मैदानमा जाने त्यस विषयमा निर्णय हुने महतले जनाए ।
अहिलेसम्म रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले कास्की–२ प्रतिनिधिसभा सिटका लागि हुने निर्वाचनमा उम्मेदवार चयन गर्नुबाहेक अन्य प्रमुख दलले अझै उम्मेदवार चयन गर्न सकेका छैनन् । यद्यपी, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले उम्मेदवार चयन गर्न बाँकी छ ।
नमुना मत–पत्र सार्वजनिक
निर्वाचन आयोगले उपनिर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार मनोनयनपत्रको नमूना सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने औपचारिक पत्रको ढाँचा बिहीबार आयोगले सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयनपत्र कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता गर्नुपर्ने छ । उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभातर्फ भक्तपुर–१ (क), बाग्लुङ–२(ख) र दाङ–३(ख)मा उपनिर्वाचन हुँदैछ ।