आज कुकुरतिहारका साथै लक्ष्मीपूजा पनि महिमासहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक १० गते


हरेकपल October 27, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १० गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको चतुर्दशी तिथि बिहान ११।५० बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । चित्रा नक्षत्र राति ४।२८ बजेसम्म रहनेछ । यसैगरी आज विष्कुम्भ योग र चतुष्पाद करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।११ मा छ भने सूर्यास्त बेलुका ५।२२ बजे हुनेछ ।


चन्द्रमा आज कन्या राशिमा छन् । आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहारका साथै लक्ष्मीपूजा पनि आजै परेको छ । कार्तिक कृष्ण चतुर्दशीको दिन कुकुरको पूजा हुने गर्दछ । यस दिनलाई नरक चतुदर्शशी पनि भनिन्छ । गृहरक्षकका रूपमा कुकुरको पूजा हुने गर्दछ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिने गर्दछ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।


लक्ष्मी पूजा
कार्तिक कृष्ण औँशीका दिन महालक्ष्मी भगवतीको उपासना हुने गर्दछ । अ‍ैँसीमा भगवती लक्ष्मीको पूजा रात्रिव्यापिनी हुने भएकाले यस वर्ष कार्तिक कृष्ण औँसीले आजकै रातलाई छुने भएकाले आज लक्ष्मीपूजा गरिएको हो । लक्ष्मीलाई धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंशीलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकार रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ ।
भगवती आद्यमातृशक्ति हुन् । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवीलाई महालक्ष्मी भनिन्छ । जसलाई त्रिगुणमयी प्रकृतिको नामले पनि पुकारिन्छ । महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । उनका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु(वञ्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् ।


विशेषतः भगवती लक्ष्मीका आठ रूप रहेका छन् । आद्य लक्ष्मी महालक्ष्मी हुन् । यसैगरी धनलक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, सन्तान लक्ष्मी, वीरा लक्ष्मी, विजया लक्ष्मी वा जाया लक्ष्मी र विद्या लक्ष्मी गरी महालक्ष्मीका आठ रूप छन् । विद्याकी देवीलाई विद्या लक्ष्मी भनिन्छ । ज्ञान, कला, साहित्य एवं संगीतकी देवी साक्षत् सरस्वती हुन् । कमलमा बसेकी, चारहात भएकी, सेतो वस्त्र धारण गर्ने, दुई हातमा कमल र दुई हात वर मुद्रा प्रदान गर्ने देवीको स्वरूप बताइएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्